सिरी ए : आज नापोली र युभेन्टसको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, माघ १२
इटालीको घरेलु लिग सिरी ए फुटबलमा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । जसमा आज सबैभन्दा आकर्षणको खेल नापोली र युभेन्टसको हुनेछ । यो सिजनको दोस्रो लेग खेल्न नापोलीले युभेन्टसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

हाल अंक तालिकामा युभेन्टस २० खेलपछि ५१ अंक जोेडेर शीर्ष स्थानमा छ । नापोली २० खेलपछि २४ अंक बनाएर १३औं स्थानमा छ । यो सिजन घरेलु लिगमा खराब अवस्थामा रहेको नापोली आज आफ्नो घरमा लिग लिडरलाई हराएर अंक तालिकामा अवस्था सुधार गर्ने दाउमा छ ।

यसअघि गत सेप्टेम्बर महिनामा भएको सिजनको पहिलो लेगको खेलमा युभेन्टसले नापोलीलाई आफ्नो घरमा ४–३ ले हराएको थियो । आज उही युभेन्टस नापोलीको घरमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने नापोली अघिल्लो हारको बदला लिने दाउमा छ ।

यो सिजन घरेलु लिगमा खराब अवस्थाबाट गुज्रिरहेको नापोलीका लागि लयमा फर्किन र आलोचना कम गर्न पनि आज युभेन्टसमाथिको जित आवश्यक छ । घरेलु मैदानमा उसले लिग लिडरलाई कडा टक्कर दिने पक्का छ ।

आजको अवे खेलका लागि युभेन्टसले आफ्ना सबै पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिनेछ । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका क्रिस्टियानो रोनाल्डो आज पनि टोलीका लागि महत्त्वपूर्ण हतियार बन्नेछन् ।

नापोली र युभेन्टसको खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ । यता, आजै लिगमा इन्टर मिलान र क्याग्लिअरी साँझ ५ः१५ बजेबाट भिड्नेछन् भने अर्को खेलमा राति १०ः४५ बजेबाट रोमा र लाजियोको अर्को रोमाञ्चक खेल पनि हुनेछ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १०:२७
Loading...