बुन्डेसलिगा : शाल्केको पोस्टमा बायर्ननद्वारा गोलको वर्षा

काठमाडौं, माघ १२
जर्मन लिग बुन्डेसलिगामा साबिक विजेता बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । गत राति भएको लिगको १९औं खेलमा बार्यनले शाल्केलाई ५–० ले हरायो । आफ्नो घरेलु मैदानमा बार्यनलाई जिताउन ५ जना खेलाडीले गोल गरे । खेलमा बार्यनका २ गोल रद्द भएका थिए ।

बार्यनले खेलको छैटौं मिनेटमै स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । बक्स भिबाट उनले हानेको प्रहार शाल्केका खेलाडीलाई लाग्दै छिरेको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले निकै सुन्दर गोल गरेपछि बार्यनले पहिलो हाफमा २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ५०औं मिनेटमा लियोन गोरेट्ज्काले भलीमा शानदार गोल हानेपछि बार्यनले अग्रता बढायो । लगत्तै खेलको ५८औं मिनेटमा थियागो अलकान्टाराले लेवान्डोस्कीको पासमा सहजै गोल गरे ।

त्यसपछि खेलको ८९औं मिनेटमा बार्यनका लगि सेर्गे गेनाब्रीले अर्को गोल थपेपछि खेल बार्यनले ५–० ले जित्यो । अब यो जितसँगै बार्यन १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा चढेको छ । बार्यन अब समान खेल खेलेको लेइपजिगभन्दा मात्रै १ अंकले पछि छ । यता, पराजित शाल्के ३३ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०८:२३
Loading...