बार्सिलोनालाई अवे खेल जित्नै मुस्किल : भ्यालेन्सियाले चखायो लज्जास्पद हार !

काठमाडौं, माघ ११
नयाँ प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो हार भोगेको छ । शनिबार ला लिगामा भएको खेलमा बार्सिलोनालाई लिगको सातौं स्थानको भ्यालेन्सियाले २–० को नमिठो हारको सिकार बनायो । आफ्नो घरमा भ्यालेन्सियालाई जिताउन म्याक्सी गोमेज नायक बने । उनले एक पेनाल्टीमा गोल गर्न चुके पनि २ गोलमा सहभागी भए ।

नयाँ प्रशिक्षक सेटिनको कमान्डमा बार्सिलोनाले तेस्रो खेलमा नमिठो हार भोगेको हो । यसअघि दुई खेल भने बार्सिलोनाले मुस्किलले जितेको थियो । ला लिगामा खेलेको दोस्रो खेलमै सेटिनले प्रशिक्षकका भूमिकामा हार भोगे ।

आफ्नो घरेलु मैदानमा भ्यालेन्सियाले पाहुना टोली बार्सिलोनामाथि उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोना खेलभरि नै चर्को दबाबमा रह्यो । भ्यालेन्सियाले खेलको ११औं मिनेटमा पेनाल्टी गुमाएर खराब सुरुआत गरेको थियो । बक्समा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले फउल गरेपछि पाएको पेनाल्टीमा भ्यालेन्सियाका म्याक्सी गोमेजको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले शानदार बचाएका थिए ।

सो पेनाल्टी खेर फालेपछि पनि भ्यालेन्सियाले खेलमा लगातार दबाब बनायो । दोस्रो हाफ सुरु हुनासाथ घरेलु टोलीले खाता खोल्यो । पेनाल्टी गुमाएका गोमेजले नै खेलको ४८औं मिनेटमा हानेको शक्तिशाली प्रहार बार्सिलोनाका जोर्डी अल्बाको शरीरमा लाग्दै सोझै पोस्टमा छिरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो ।

सबै प्रमुख खेलाडीका साथ खेलेको बार्सिलोना बराबरी गोलको खोजीमा रहेका बेला ऊ त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला खेलको ७७औं मिनेटमा भ्यालेन्सियाका लागि गोमेजले नै शानदार गोल गर्दै खेल २–० बनाए । त्यसपछि बार्सिलोना खेलमा फर्किन सकेन । र, खेल भ्यालेन्सियाले जित्यो । भ्यालेन्सियाले कूल ३ गोल गरेकोमा १ गोल रेफ्रीले रद्द गरिदिएका थिए ।

यससँगै भ्यालेन्सिया बार्सिलोनासँग गत सेप्टेम्बरमा पहिलो लेगमा बार्सिलोनाको घर क्याम्प नोउमा भोगेको ५–२ को हारको बदला उस्तै शानदार ढंगले लिन सफल भयो । गत सिजन भ्यालेन्सियाले बार्सिलोनालाई नै हराएर कोपा डेल रे फुटबलको उपाधि जितेको थियो ।

यो जितसँगै भ्यालेन्सिया २१ खेलबाट ३४ अंक बनाएर लिगको पाँचौं स्थानमा चढेको छ । पराजित बार्सिलोना समान २१ खेलपछि ४३ अंकका साथ शीर्ष स्थानमा कायम छ । तर, आइतबार राति रियल मड्रिडले आफ्नो खेल जिते बार्सिलोना स्पष्ट ३ अंकले पछि पर्नेछ ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार २२:३४
Loading...