१९ वर्षका हल्यान्डले दुई खेलबाटै बनाए दुर्लभ रेकर्ड !

एजेन्सी, माघ ११
जर्मन क्लब बोरुसिया डर्टमुन्डका नयाँ युवा फरवार्ड अर्लिङ हल्यान्डले चमत्कारिक रूपमा बुन्डेसलिगामा नयाँ रेकर्ड बनाएका छन् । यसै जनवरी विन्डोमा अस्ट्रियन क्लब रेड बुलबाट डर्टमुन्डमा पुगेका उनले सुरुआती दुई खेलबाटै रेकर्ड बनाएका हुन् ।

डर्टमुन्डले घरेलु लिगमा गत राति एफसी कोल्नलाई आफ्नो घमा ५–१ ले हरायो । सो खेलमा हल्यान्डले ६५औं मिनेटमा मैदान छिरेर खेलको ७७ र ८७औं मिनेटमा गरी २ गोल गरेका थिए ।

सो गोलसँगै हल्यान्ड अब बुन्डेसलिगाको इतिहासमै सुरुआती दुई खेलबाटै ५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अर्थात्, उनी सबैभन्दा कम खेलबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

यसअघि हल्यान्डले बुन्डेसलिगा र डर्टमुन्डको जर्सीमा डेब्यु खेलमै अगर्सवर्गविरुद्ध ह्याट्रिक गरेका थिए । सो खेलमा पनि बेन्चबाटै मैदान छिरेका उनले २३ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

तथ्यांक हेर्दा हल्यान्डले डर्टमुन्डका लागि दुई खेलमा बेन्चबाट मैदान छिरेर कूल ५५ मिनेटमा खेलेका छन् । र, सो अवधिमा ५ गोल गरेका छन्, एक ह्याट्रिकसहित । उनले औसतमा हरेक ८ मिनेटमा १ गोल गरेका छन्, जुन हालको ताजा अवस्थामा युरोपियन टप–५ लिगमा सबैभन्दा राम्रो ‘गोल स्कोरिङ स्पिड’ हो ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १४:३०
Loading...