हाजार्ड इज ब्याक : चोटमुक्त हुँदै फर्किए प्रशिक्षणमा

एजेन्सी, माघ ११
लामो समयदेखि चोटग्रस्त रहेका स्पेनिस रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । गत समरमा इंग्लिस क्लब चेल्सीबाट रियल आइपुगेका बेल्जियन स्टार पहिलो सिजन नै पटक–पटक चोटबाट पीडित बनेका छन् ।

तर, अब भने रियल मड्रिडका फ्यानहरूलाई केही खुसीको खबर छ । हाजार्ड चोटमुक्त भएर मैदान फर्किन तयार छन् । हाजार्ड गत नोभेम्बर २६ तारिखमा च्याम्पियन्स लिगमा पिएसजीविरुद्धको खेल दौरान घाइते भएका थिए । त्यसपछि हाजार्ड ठीक दुई महिनापछि टोलीमा फर्किएका हुन् ।

रियल मड्रिडले आइतबार राति ला लिगामा अवे मैदानमा भाल्लाडोलिडसँग खेल्दैछ । सो खेलमा हाजार्डले खेल्ने पक्का नभए पनि फेब्रुअरी १ तारिखमा ला लिगामा हुने मड्रिड डर्बीमा उनले खेल्ने पक्का छ । सोही खेलका लागि तयार राख्न पनि प्रशिक्षक जिदानले भाल्लाडोलिडविरुद्ध हाजार्डलाई खेलाउने सम्भावना न्यून छ ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १०:४०
Loading...