भ्यालेन्सियासँगको खेलअघि बार्सिलोनाका प्रशिक्षकको ‘कडा’ बोली !

एजेन्सी, माघ ११
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले आज राति लिगको २१औं खेल भ्यालेन्सियासँग अवे मैदानमा खेल्दैछ । केही दिनअघि मात्रै कोपा डेल रे फुटबलको अन्तिम ३२ मा तेस्रो श्रेणीको टिम इबिजासँग अवे मैदानमा २–१ को कठिन जित निकालेको बार्सिलोना आज अवे मैदानमा लिगकै एक बलियो टोली भ्यालेन्सियासँग खेल्न लाग्दा यो खेललाई निकै महत्त्वसाथ हेरिएको छ ।

सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले ‘कडा’ अभिव्यक्ति दिएका छन् । उनले आफ्ना खेलाडीलाई उच्च मनोबलका साथ खेल्न भन्दै कुनै पनि कमजोरी टिमका लागि घातक हुनसक्ने बताए । ‘कपमा इबिजासँगको खेल हाम्रा लागि कठिन र एक प्रकारले पीडादायी खेल थियो । अब हामी कदापि त्यस्तो खेल चाहँदैनौं,’ सेटिनले भने, ‘त्यो खेल बिर्सेर टिम आफ्नो स्तरमा फर्किनुपर्छ । र, उत्कृष्ट प्रदर्शन दिन सक्नुपर्छ ।’

सेटिनले बार्सिलोना अवे मैदानमा अक्सर दबाबमा हुने गरेको तथ्यांकले नै साबित गर्ने भन्दै खेलाडीले यस्तो मानसिकता त्याग्नुपर्ने बताए । ‘हामी बार्सिलोना टिम हौं । मलाई लाग्दैन, यो टिमले क्याम्प नोउभन्दा बाहिर जाँदा दबाब महसुस गर्नुपर्छ । वा, मनोवैज्ञानिक रूपमा डरका साथ खेल्नुपर्छ,’ सेटिनले आफ्ना खेलाडीप्रति इंगित गर्दै भने, ‘म मेरा खेलाडीबाट शतप्रतिशत प्रदर्शन चाहन्छु, जति उनीहरूले दिन सक्छन् ।’

सेटिनले भ्यालेन्सिया अहिले बलियो स्थितिमा रहे पनि उनीहरूविरुद्ध आफूहरूले पूर्ण तयारीसाथ खेल्ने बताए । ‘हामी उनीहरूको घरमा खेल्नेछौं । मलाई थाहा छ, उनीहरूले हामीलाई सहजै जित्न दिनेछैनन् । तर, हामी यो खेल हरहालतमा जितेर अंक तालिकामा शीर्षस्था कायम राख्न चाहन्छौं,’ सेटिनले भने, ‘हामी लिग जित्न चाहन्छौं भने यस्ता खेलमा राम्रो अन्तरमा जित निकाल्न सक्नुपर्छ ।’

सेटिनले आफूले मेस्सीबाट मात्रै नभएर सबै खेलाडीबाट उच्च प्रदर्शन चाहने बताए । ‘त्यसो हैन । मेस्सी प्रमुख खेलाडी हुन् । तर, अन्य खेलाडी पनि उत्तिकै महत्त्वपूर्ण छन् । म मेस्सीबाट मात्रै नभएर सबै खेलाडीबाट उच्च प्रदर्शन चाहन्छु,’ सेटिनले भने ।

बार्सिलोना र भ्यालेन्सियाको खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ । यसअघि आफ्नो घरमा भएको पहिलो लेग बार्सिलोनाले ५–२ ले जितेको थियो ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ११:५२
Loading...