ला लिगा : आज बार्सिलोना र भ्यालेन्सिया भिड्दै

काठमाडौं, माघ ११
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेल हुँदैछन् । आज हुने खेलमध्ये भ्यालेन्सिया र बार्सिलोनाको खेल सबैभन्दा आकर्षणको खेल हुनेछ । लिगको २१औं खेल खेल्न बार्सिलोना सातौं स्थानको भ्यालेन्सियाको घरेलु मैदानमा उउत्रिँदैछ ।

हाल लिगमा बार्सिलोना २० खेलपछि ४३ अंक जोडेर शीर्ष स्थानमा छ । भ्यालेन्सिया ३१ अंकसहित सातौं स्थानमा रहेको छ । बार्सिलोनालाई अवे मैदानमा आज बलियो टोली भ्यालेन्सियासँग खेल्दा जितको चर्को दबाब हुनेछ ।

अवे मैदानमा कमजोर देखिँदै आएको बार्सिलोनालाई शीर्ष स्थानमा रहन पनि आज भ्यालेन्सियामाथि जित आवश्यक हुन्छ । यसअघि भएको पहिलो लेगमा बार्सिलोनाले आफ्नो घरमा भ्यालेन्सियालाई ५–२ ले हराएको थियो ।

आज आफ्नो घरमा उत्रिँदा भ्यालेन्सिया लिग लिडरलाई हराउन मात्रै चाहँदैन, यसअघि क्याम्प नोउमा भोगेको नमिठो हारको बदलासमेत लिन चाहन्छ । लिगमा अवस्था सुधार गर्न पनि भ्यालेन्सियाका लागि बार्सिलोनासँग जित ज्यादै महत्त्वपूर्ण हुनेछ ।

बार्सिलोना र भ्यालेन्सियाले आफ्ना पछिल्ला पाँच खेलमा समान दुई–दुई खेल मात्रै जितेका छन् । जसमा बार्सिलोनाले दुई खेल जितेर तीन खेल बराबरी गरेको छ । यता, भ्यालेन्सियाले पाँच खेलमधये दुई खेल जितेर दुई खेल बराबरी गर्दा एक खेल हारेको छ ।

आज बार्सिलोनाको टोलीमा अघिल्लो खेलमा टोलीमा नरहेका कप्तान लिओनल मेस्सीसहितका प्रमुख खेलाडी खेल्नेछन् । गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले आज बार्सिलोनाको पोस्ट सम्हाल्नेछन् ।

आज हुने खेल नेपाली समयमा

इस्पान्योल भर्सेस एथ्लेटिक बिल्बाओ – साँझ ५ः४५ बजे

भ्यालेन्सिया भर्सेस बार्सिलोना – राति ८ः४५ बजे

अलाभेस भर्सेस भिल्लारियल – राति ११ः१५ बजे

सेभिल्ला भर्सेस ग्रानाडा – राति १ः४५ बजे

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०९:१८
Loading...