च्याम्पियन्स लिग जित्ने सम्भावनाबारे के भन्छन् डे जोङ ?

एजेन्सी, माघ १०
स्पेनिस बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डे जोङले यो सिजन च्याम्पियन्स लिग जित्ने सम्भावनाबारे कुरा गरेका छन् । ‘स्पोर्टस्’ पत्रिकासँग कुरा गर्दै उनले आफूले बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्न चाहेको बताए ।

केही समयअघि डे जोङले ‘आफूलाई अहिले आएर ला लिगाभन्दा प्रिमियर लिग विश्वकै सबैभन्दा उत्कृष्ट लिग लाग्न थालेको’ बताएर स्पेन सरुवामा पछुतो झल्किने अभिव्यक्ति दिएका थिए ।

‘मानिस (बार्सिलोना समर्थक) हरू मलाई रोक्छन् र भन्छन्– यसपटक जसरी पनि च्याम्पियन्स लिग जित्नुपर्छ,’ डे जोङले भने, ‘यसो भन्दा मभित्र यो प्रतियोगिता जित्नैपर्छ भन्ने चाहना झन् बढ्छ । हाम्रो टिमलाई पनि यस्तै लाग्छ ।’

डे जोङले युरोपियन प्रतियोगिता जित्न निकै कठिन रहे पनि बार्सिलोनाले संघर्ष गर्ने बताए । ‘सबैलाई थाहा छ, च्याम्पियन्स लिग जित्न सजिलो छैन । अहिले त यो झन् कठिन बन्दै छ । हरेक टिम एकसे एक छन्,’ डे जोङले भने, ‘तर, हामी यसपटक यो उपाधि जित्न चाहन्छौं । यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं ।’

डे जोङले आफूले बार्सिलोनाबाट सबैखाले उपाधि जित्न चाहे पनि च्याम्पियन्स लिग पहिलो रोजाइमा पर्ने बताए । ‘म बार्सिलोनाबाट सबैथोक जित्न चाहन्छु । तर, यदि कुनै एक छान्नुपर्दा च्याम्पियन्स लिग पहिलो हो,’ उनले भने ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार २१:२७
Loading...