लिभरपुलका ‘गोल्डेन ब्वाई’ कोउटिन्होको यात्रा : चुलीबाट फेदीतिर …….

एजेन्सी, माघ १०
सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलमा ब्राजिलका प्ले मेकर फिलिपे कोउटिन्हो ‘गोल्डेन ब्वाई’ थिए । उनी प्रशिक्षक जोर्गेन क्लोपका एक प्रमुख हतियार मात्रै थिएनन्, युरोपियन फुटबलमा उच्च स्तरका एक स्टार थिए । एनफिल्ड क्लबको जर्सीमा उनले गरेको चमत्कारिक प्रदर्शनबाट धेरै लोभिएका थिए ।

त्यसमध्येकै एक स्पेनिस बार्सिलोनाले ब्राजिलियन खेलाडीलाई लामो रस्साकस्सीबीच मोटो पैसा खर्चेर भित्र्यायो । मूल्य हाल्यो– बार्सिलोनाको खेलाडी खरिद इतिहासमै कीर्तिमानी १६० मिलियन युरो । क्लबले उनलाई खर्चिएको पैसा र दिएको सुविधाबाट टिममा रहेका पुराना खेलाडीले समेत मन दुखाए ।

कोउटिन्होलाई बार्सिलोनाले निकै महत्त्कांक्षी योजनासाथ भित्र्याएको थियो । क्याम्प नोउ आइसकेपछि डेब्यु सिजनको आधा समय उनका लागि सन्तोषजनक नै रहे पनि दोस्रो सिजन उनी फितला देखिए । पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उनलाई राम्रो भूमिका दिन सकेनन्, वा कोउटिन्होले टोलीमा आफूलाई सेट गर्न सकेनन् । भाल्भर्डेले गत सिजन त थुप्रै खेलमा उनलाई बेन्चमै थन्काइदिए ।

समयक्रमसँगै बार्सिलोनामा कोउटिन्होको प्रभाव घट्दै गायो । टोलीमा उनको आवश्यकता पर्न छाड्यो । उनी क्लब र प्रशिक्षकको योजनामा कम मात्रै पर्न थालेपछि गत समर सिजनमा बार्सिलोनाले उनलाई जर्मन क्लब बार्यन म्युनिख लोनमा पठायो । २७ वर्षका कोउटिन्हो अहिले बार्यनमा एकवर्षे लोन अवधि खेलिरहेका छन् ।

तर, बार्यनमा पनि कोउटिन्होको प्रभाव खासै जमेन । आधा सिजनभन्दा बढी सकिँदा उनले हालसम्म बार्यनको जर्सीमा २३ खेलबाट ७ गोल गर्दै ५ गोलमा असिस्ट गरेका छन् । र, यो उनको स्तरको प्रदर्शन हैन । बार्यनका जर्मन खेलाडी थोमस मुलरसँग समय बाँडेर खेल्दै आएका कोउटिन्होको करिअरमा पुनः नयाँ मोड आउने सम्भावना बढेको छ ।

बार्यनले ब्राजिलियन खेलाडीलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । यदि बार्यनले चाहे यो सिजनको अन्त्यसँगै कोउटिन्होलाई स्थायी रूपमै १२० मिलियन युरोमा किन्न पाउने सम्झौता छ ।

तर, टोलीमा अपेक्षाअनुसार प्रभाव जमाउन नसकेपछि बार्यनले कोउटिन्होलाई यो सिजनको अन्त्यसँगै पुनः बार्सिलोनै फर्काउने तयारी गरेको छ । यस्तो खबर जर्मन तथा ब्राजिलका मिडियाले छापेका छन् । यो सिजन बार्यनले बुन्डेसलिगासहित च्याम्यिन्स लिग जित्न सके र त्यसक्रममा कोउटिन्होको प्रदर्शन उच्च रहे अवस्थाबाहेक समरमा उनको बार्सिलोना फिर्ती निश्चितप्रायः छ ।

यदि समरमा बार्सिलोना फर्किए उनको करिअर कसरी अघि बढ्छ ? वा, बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा उनको भूमिका कस्तो हुन्छ भन्ने कुराले उनको भविष्य निर्धारण गर्नेछ । अघिल्लो साता मात्रै प्रशिक्षक बनेका सेटिनले लगत्तै एक अन्तार्वार्तामा बोल्दै ‘कोउटिन्हो बार्सिलोनालाई चाहिने खेलाडी भएको’ बताएर उनलाई बार्यनबाट फर्काउने र टोलीको प्रमुख हिस्सा बनाउने बताएका थिए ।

तर, बार्सिलोनाले समरमा नयाँ फरवार्डसहित पूर्वखेलाडी नेइमार भित्र्याउने चर्चा र सम्भावना अझै रहेकाले बार्सिलोना फर्किए पनि कोउटिन्होको भविष्य सुरक्षित नहुने खतरा बढी छ । केही समयअघि ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले कोउटिन्हो पुनः बार्सिलोना फर्किए उनको करिअर झन् संकटमा पर्ने बताएका थिए ।

यता, सरुवा बजारका पछिल्ला रिपोर्टअनुसार लिभरपुलले घट्दो मूल्यमा पुनः कोउटिन्होलाई अनुबन्ध गर्न सक्ने चर्चा पनि आइरहेका छन् । प्रशिक्षक जोर्गेन क्लब अझै पनि कोउटिन्होलाई चाहन्छन् । तर, लिभरपुल दुई वर्षअघि कोउटिन्हो बेच्दाकै मूल्य अहिले किन्न खर्चिन तयार छैन । यदि ९० मिलियन युरो (बेचेको भन्दा ७० मिलियन कम) सम्मको मूल्यमा बार्सिलोना राजी भए लिभरपुलले अझै पनि आफ्ना ‘पूर्वगोल्डेन ब्वाई’लाई फर्काउन सक्ने सम्भावना रहेको बताइन्छ ।

बार्सिलोना जानुअघि लिभरपुलमा कोउटिन्होको अवस्था :

सिजन २०१६–१७ – ३६ खेल, १४ गोल
सिजन २०१७–१८ (आधा सिजन) – २० खेल, १२ गोल

बार्सिलोना पुगेपछि–

सिजन २०१७–१८ (आधा सिजन) – २२ खेल, १० गोल
सिजन २०१८–१९ – ५४ खेल, ११ गोल

जारी सिजन हालसम्म बार्यनमा – २३ खेल, ७ गोल

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १६:०३
Loading...