बार्सिलोनाले तोक्यो मार्टिनेज भित्र्याउन ‘बम्पर’ रकम !

एजेन्सी, माघ ९
स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानका स्टार युवा फरवार्ड लौटारो मार्टिनेज भित्र्याउन तयारी थालेको छ । स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोनाले अर्जेन्टिनाका खेलाडीलाई आगामी समर सिजनमा भित्र्याउने गरी सम्भव भए जनवरी सिजन बन्द नहुँदै डिल फाइनल गर्ने तयारीमा लागेको हो ।

बार्सिलोनाले आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको उत्तराधिकारीका रूपमा मार्टिनेजलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, जर्मन क्लब आरबी लेइपजिगका टिमो वार्नर पनि बार्सिलोनाको सूचीमा रहेका छन् ।

खबरअनुसार बार्सिलोनाले २२ वर्षका फरवार्ड अनुबन्ध गर्न बढीमा १२० मिलियन युरो मूल्यको अफर प्रस्ताव गर्ने तयारी गरेको छ । यदि सो मूल्यमा मिलान राजी हुन नसके बार्सिलोनाले १३० मिलियनसम्म मूल्य लगाउन सक्ने बताइन्छ ।

मिलानसँग मार्टिनेजले सिजन २०२२–२३ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन् । उनको रिलिज क्लज १११ मिलियन युरो रहेको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार २१:३५
Loading...