रोनाल्डोको प्रदर्शनबाट सार्री मक्ख : यसरी गरे तारिफ

काठमाडौं, माघ ९
इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिसियो सार्रीले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको खुलेर तारिफ गरेका छन् । युभेन्टस गत राति कोपा इटालियाको क्वार्टरफाइनलमा रोमालाई आफ्नो घरमा ३–१ ले हराउँदै सेमिफाइनल पुगेपछि पत्रकार सम्मेलनमा बोल्दै सार्रीले रोनाल्डो ‘सबैभन्दा माथि’को स्तरका खेलाडी रहेको बताए ।

गत राति रोमाविरुद्ध पनि रोनाल्डोले टिमका लागि सुरुआती गोल गरेका थिए । रोनाल्डो पछिल्लो समय उतकृष्ट लयमा फर्किएका छन् । उनले पछिल्ला १० खेलबाट १३ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् । उनले वर्ष २०२० सुरु भइकन मात्रै ४ खेलबाट ७ गोल गरिसकेका छन् ।

खेलपछि सार्रीले रोनाल्डोबारे बोल्न आफूसँग शब्द नरहेको बताए । ‘क्रिस्टियानोबारे धेरै के भनौं ? उनी सबैभन्दा माथि छन्,’ सार्रीले भने, ‘म उनको प्रदर्शन र टिमलाई दिएको योगदानाट ज्यादै खुसी छु । टिम खुसी छ । ’

सार्रीले जारी सिजन युभेन्टस महत्त्वपूर्ण चरणमा पुगेका बेला रोनाल्डो शानदार लयमा फर्किनु टिमका लागि राम्रो र विपक्षीका लागि खराब कुरा रहेको बताए । ‘क्रिस्टियानो एकदमै महत्त्वपूर्ण समयमा उत्कृष्ट लयमा फर्किएका छन्, यो उनी स्वयंम र टिमका लागि ज्यादै ठूलो कुरा हो,’ सार्रीले भने, ‘तर, यो विपक्षीका लागि खराब कुरा हो ।’

फेब्रुअरीबाट ३५ वर्ष टेक्न लागेका पोर्चुगिज फरवार्ड रोनाल्डोले यो सिजन युभेन्टसका लागि कूल २५ खेलबाट १९ गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् । यो तथ्यांक गत सिजनको भन्दा निकै राम्रो हो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १९:४५
Loading...