प्रिमियर लिगमा आज उल्भ्स र लिभरपुलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, माघ ९
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगको २४औं साताको खेलमा लिग लिडर लिभरपुल र उल्भ्स आमनेसामने हुँदैछन् । यो खेलका लागि उल्भ्सले लिभरपुललाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि गत डिसेम्बर २९ मा मात्रै यी दुई टिम पहिलो लेगमा खेलेका थिए । आफ्नो घरमा भएको सो खेलमा लिभरपुलले १–० को संघर्षपूर्ण जित निकालेको थियो । आज दोस्रो लेग उल्भ्सको घरेलु मैदानमा हुन लागेको हो ।

उल्भ्स त्यही टिम हो, जसले यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई होम एन्ड अवे गरी दुवै लेगमा नमिठो हार चखाएको थियो । सोही टिम यसअघि लिभरपुलको घरमा उत्रिँदा पनि उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई साँघुरो जितमा खुम्चाएको थियो ।

आज आफ्नो घरमा लिग लिडरलाई स्वागत गर्दा उल्भ्स ऊसँग अघिल्लो लेगमा भोगेको हारको बदला लिन मात्रै चाहँदैन, लिगमा उसको अपराजित यात्रालाई समेत टुंगाउने दाउमा छ ।

हाल अंक तालिकामा लिभरपुल २२ खेलपछि ६४ अंकसहित पहिलो स्थानमा छ । उल्भ्स २३ खेलबाट ३४ अंकसहित सातौंमा छ । उल्भ्सले पछिल्ला पाँच खेलमा दुई खेल जितेर दुई खेल हार्दा एक खेल बराबरी गरेको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १५:१४
Loading...