प्रिमियर लिग : आफ्नै घरमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं, माघ ९
यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अर्को खराब नतिजाको सिकार भएको छ । गत राति लिगको २४औं खेलमा युनाइटेडलाई पाहुना टोली बर्नलीले उसकै घरमा ०–२ ले स्तब्ध बनायो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई आफ्ना प्रमुख फरवार्ड मार्कुस रासफोर्डको प्रष्टै अभाव खड्किएको थियो । रासफोर्ड चोटका कारण टोलीबाहिर छन् ।

पाहुना टोली बर्नलीले खेलको ३९औं मिनेटमा घरेलु टोलीविरुद्ध गोल गरेको थियो । सो गोल क्रिस उडले गरेका थिए । सोही गोलको मदतमा बर्नली पहिलो हाफमा ०–१ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा बराबरी गोलको खोजीमा रहेको युनाइटेड यत्तिबेला स्तब्ध बन्यो, जतिबेला ५६औं मिनेटमा दोस्रो गोल खायो । सो गोल जय रोड्रिग्वेजले गरेका थिए । सो गोल खाएपछि लगातार खेलमा फर्किने युनाइटेडको प्रयास खेर गएपछि नतिजा बर्नलीले ०–२ ले लग्यो ।

अब यो हारसँगै युनाइटेडलाई अंक तालिकामा गम्भीर झट्का लागेको छ । युनाइटेड २४ खेलपछि मात्रै ३४ अंक बनाएर पाँचौं स्थानमा रोकिएको छ । उसलाई टोटनह्यामले अंक बराबरी गरेको छ । यता, विजयी बर्नली ३० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०९:०६
Loading...