रोमालाई हराउँदै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा : रोनाल्डोको लगातार गोल

काठमाडौं, माघ ९
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लगातार गोल गरेको खेलमा सहज जित निकाल्दै इटालियन क्लब युभेन्टस कोपा इटालिया नकआउट फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको क्वार्टरफाइनल खेलमा युभेन्टसले सिरी ए प्रतिस्पर्धी रोमालाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

आफ्नो घरेलु मैदानमा युभेन्टसलाई पाहुना टोली रोमाविरुद्ध सहज जित दिलाउनेक्रममा ३ जना फरक–फरक खेलाडीले गोल गरे । रोनाल्डोले खेलको २६औं मिनेटमा सुन्दर गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३८औं मिनेटमा युभेन्टसका लागि रोड्रिगो बेन्टाकुरले आकर्षक प्रहारमा गोल गरेपछि युभेन्टसले अग्रता २–० बनायो । लगत्तै पहिलो हाफको इन्जुरी समयमा कप्तान लियोनार्दो बोनुचीले सुन्दर हेडिङ गोल गरेपछि पहिलो हाफमा युभेन्टसले ३–० को अग्रता बनायो ।

दोस्रो हाफ सुरु हुनासाथ युभेन्टसले गोल खायो । रोमाका खेलाडीको लामो दूरीको कडा प्रहार बारमा लागेर गोलकिपर बुफोनलाई लाग्दै छिरेपछि रोमाले उपहार गोल पायो । तर, त्यसपछि बाँकी समयभरि दुवै टोलीबाट थप गोल नभएपछि खेल युभेन्टसले ३–१ ले जित्यो ।

यससँगै युभेन्टसले रोमालाई एकै सातामा दुईपटक हराएको छ । यसअघि गत सोमबार मात्रै युभेन्टसले आफ्नै घरमा २–१ ले हराएको थियो । यो जितसँगै युभेन्टस कोपा इटालियाको उपाधितर्फ अघि बढेको छ भने रोमा आउट भएको छ । गत सिजन युभेन्टस कोपाको अन्तिम आठबाटै आउट भएको थियो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०३:२३
Loading...