तेस्रो डिभिजनको क्लबमाथि बार्सिलोनाको कठिन जित : कोपाको अन्तिम १६ मा प्रवेश

काठमाडौं, माघ ९
फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले टिम पछि परेका बेला बराबरी र खेलको इन्जुरी समयमा विजयी गोल गरेपछि बार्सिलोना कठिन जितसहित कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ मा तेस्रो डिभिजनको क्लब इबिजामाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना अर्को चरण पुगेको हो । बार्सिलोना पछि परेको अवस्थामा कठिन जित दिलाउन २ वटै गोल ग्रीजम्यानले गरेका हुन् ।

नेपाली समयअनुसार बिहीबार बिहान इबिजाको घरेलु मैदानमा भएको खेलमा इबिजाले ला लिगाको लिडर टिम बार्सिलोनाविरुद्ध खेलको नवौं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । जोसेप काबाल्ले मार्टिनले बार्सिलोनाको बक्सभित्र डिफेन्डरलाई छलाउँदै निकै सुन्दर गोल गरेका थिए । १७औं मिनेटमा इबिजाले दोस्रो गोल गरे पनि सो गोल रद्द भएको थियो ।

पहिलो गोलको अग्रता लिएर जिततर्फ अघि बढेको इबिजा खेलको अन्त्यतिर सम्हालिन नसक्दा २ गोल खाएर पराजित भयो । खेलको ७२औं मिनेटमा बासिलोनाका लागि ग्रीजम्यानले पहिलो गोल गरेर खेल १–१ बनाए ।

त्यसछि दुवै टिम विजयी गोलको खोजीमा रहेका बेला बार्सिलोना इन्जुरी समयमा सफल भयो । ग्रीजम्यानले नै टिमका लागि थपिएको समयको चौथो मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल १–२ ले जित्यो ।

टोलीका केही प्रमुख खेलाडीबिनै तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध उत्रेको बार्सिलोनालाई यो खेल जित्न ठूलै संघर्ष गर्नुपरेको थियो । तर, ग्रीजम्यानले कठिन अवस्थामा २ गोल गर्दै बार्सलोनालाई अन्तिम ३२ बाटै बाहिरिनबाट बचाए ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०१:४५
Loading...