बार्सिलोना आर्सनलका अउबामेयाङ भित्र्याउने नजिक

एजेन्सी, माघ ८
स्पेनिस बार्सिलोनाले आफ्ना चोटग्रस्त उरुग्वेन फरवार्ड लुइस स्वारेजको विकल्पमा तत्कालै इंग्लिस क्लब आर्सनलका स्टार फरवार्ड पियरे इमरिक अउबामेयाङलाई लोनमा भित्र्याउने नजिक पुगेको खबर बाहिरिएको छ । ‘गोल’मा प्रकाशित समाचारअनुसार बार्सिलोनाका बोर्ड अधिकारी र आर्सनलका खेल निर्देशकबीच यस विषयमा औपचारिक छलफल भइससकेको छ ।

खबरअनुसार बार्सिलोनाले क्लबमा ९ नम्क्बर जर्सी लगाउने दीर्घकालीन खेलाडी नभित्र्याउँदासम्म (आगामी समर सिजनसम्म) अउबामेयाङलाई लोनमा अनुबन्ध गर्न लागेको हो । यदि दुई पार्टीबीच डिल फाइनल भए उनी यो सिजनको अन्त्यसम्मका लागि मात्रै स्पेनमा हुनेछन् ।

आर्सनलसँग आउबामेयाङको सम्झौता अवधि सकिन १८ महिना बाँकी छ । गत समरदेखि नै बार्सिलोनाले गाबोनका यी खलाडी भित्र्याउन चासो देखाएको चर्चा चल्दै आएको थियो । अहिले आफ्ना फरवार्ड लुइस स्वारेज चोटका कारण बाँकी सिजनभरि बाहिर हुनेपछि बार्सिलोनाले तत्कालको संकट टार्न वैकल्पिक खेलाडी अनुबन्ध गर्ने प्रयासमा रहेको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ, सिइयो ओस्कार ग्राउ फुटबल निर्देशक इरिक अबिडाल र हेड कोच क्विके सेटिन आउबामेयाङ भित्र्याउन राजी भएका छन् । सोमबार दुई क्लबका अधिकारीबीच छलफल भएको बताइएको छ ।

यता, बार्सिलोनाले आगामी स्वारेजको दीर्घकालीन विकल्पका रूपमा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज र जर्मन क्लब आरबी लेइपजिगका जर्मन फरवार्ड टिमो वार्नरमध्ये एक खेलाडी भित्र्याउन तयारी थालेको खबर पनि आइरहेको छ ।

स्वारेज घाइते भएपछि बार्सिलोनालाई बाँकी सिजनमा कठिनाइ पर्ने पक्का छ । ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे कपको महत्त्वपूर्ण चरण सुरु हुँदै गर्दा टोलीका एक प्रमुख खेलाडी लामो समय मैदानबाहिर हुने भएपछि बार्सिलोना तत्काल नयाँ खेलाडीको खोजीमा सक्रिय छ ।

जारी सिजन आउबमेयाङले आर्सनलका लागि २६ खेल खेल्दै १६ गोल गरेर १ गोलमा असिस्ट गरेका छन् । उनी आर्सनलका प्रमुख खेलाडी मात्रै नभएर कप्तान पनि हुन् । उनी हाल ३० वर्षका छन् ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १७:४२
Loading...