एकै खेलमा दुई रातो कार्ड : लाजियोलई हराउँदै नापोली कोपाको सेमिफाइनलमा

काठमाडौं, माघ ८
पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको इटालियन क्लब नापोली जितको बाटोमा फर्किएको छ । नकआउट प्रतियोगिता कोपा इटालियाअन्तर्गत गत राति भएको क्वार्टरफाइनल खेलमा दुवै टोली १० खेलाडीमा सीमित भएकोमा लाजियोलाई कठिन गरी हराउँदै नापोली अन्तिम चारमा प्रवेश गरेको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका स्टार खेलाडी सिरो इम्मोबाइल पेनाल्टीमा चुक्दा नापोलीले लाजियोमाथि १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा स्थान तय गरेको हो । नापोलीले सिरी ‘ए’ लिगमा पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेर कोपामा जित निकालेको हो । यता, पछिल्लो समय उत्कृष्ट लयमा रहेको लाजियो भने कोपाको अन्तिम आठबाटै आउट भएको छ ।

नापोलीका लागि खेल सुरु भएको दोस्रो मिनेटमै लारेन्जो इन्साइनले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । उनले बक्सभित्र लाजियोका ३ जना डिफेन्डरलाई छलाउँदै निकै राम्रो गोल गरेका थिए ।

तर, खेलको १०औं मिनेटमै लाजियोले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । इम्मोबाइल पेनाल्टी प्रहार गर्नेक्रममा चिप्लिएपछि उनको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । अन्ततः त्यसपछिको समयमा लाजियो खेलमा फर्किन नसकेपछि खेल नापोलीले १–० ले जित्यो ।

खेलको १९औं मिनेटमा नापोलीका डिफेन्डर इलिसेड हायास्ज दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाँदै मैदान छाडेपछि नापोली दबाबमा परेको थियो । तर, खेलको २५औं मिनेटमा लाजियोका मिडफिल्डर लुकास लेभियाले गम्भीर फउल गरेपछि सोझै रातो कार्ड पाएर मैदान छाड्दा नापोलीलाई राहत मिलेको थियो ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०८:४१
Loading...