च्याम्पियन्स लिगबारे यसो भन्छन् डिबाला

एजेन्सी, माघ ७
इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले जारी सिजन आफ्नो टिम च्याम्पियन्स लिग जित्न गत सिजनभन्दा राम्रो स्थितिमा रहेको बताएका छन् । इटालीको पत्रिका ‘टुट्टो स्पोर्ट्स’सँग कुरा गर्दै अर्जेन्टिनी फरवार्ड डिबालाले टिम अहिले विभिन्न हिसाबले राम्रो अवस्थामा रहेको बताएका हुन् ।

डिबालाले टोलीमा अनुभवी खेलाडी र युवा खेलाडीको राम्रो संयोजन मिल्दै जानु टिमका लागि बलियो पक्ष रहेको बताए । ‘हामीसँग रक्षापंक्तिदेखि फ्रन्ट लाइनमा समेत अुनभवी खेलाडी छन्, युवा खेलाडीको उपस्थिति निकै राम्रो छ ,’ डिबालाले भने, ‘एक टिमका रूपमा हामी बलियो स्थितिमा छौं । एक वा दुई हारले समग्र सिंगै सिजन र टिमको स्तर तथा गुणको मापन हुन सक्दैन । मलाई लाग्छ, हामी च्याम्पियन्स लिग जित्न सही बाटोमा छौं ।’

डिबालाले कप्तान जर्जियो चिलिनी चोटबाट फर्किएपछि टिम थप बलियो हुने बताए । ‘चिलिनी जो रक्षापंक्तिका प्रमुख हिस्सा हुन्, उनी फिट भएर आउने दिनको पर्खाइमा छौं । उनी फर्केपछि टिम थप मजबुत हुनेछ,’ उनले थपे ।

डिबालाले मेरिह डेमिराल घाइते भए पनि टोलीमा युवा डफेन्डर माथिस डि लिग्टले आफ्नो काम गरिरहेको बताए । ‘यसमा कुनै शंका छैन्, डि लिग्ट यो समयका एक उत्कृष्ट डिफेन्डर हुन् । उनले यहाँ निकै राम्रो गरिरहेका छन् । उनले अझै राम्रो गर्नेछन्,’ डिबालाले भने, ‘हामी यसपटक ठूला उपाधि जित्न सक्छौं भन्ने उनलाई थाहा छ ।’

डिबालाले यस सिजन क्रिस्टियानो रोनाल्डोले गत सिजनभन्दा धेरै राम्रो गर्न सक्ने बताए । घरेलु लिगमा गरिरहेको स्तरकै प्रदर्शन च्याम्पियन्स लिगमा कायम गर्न सके टोलीलाई ठूलो आड मिल्ने डिबालाले बताए । ‘क्रिस्टियानो च्याम्पियन खेलाडी हुन्, जोसँग प्रशस्तै अनुभव र ठूलो ऊर्जा छ । उनले अहिले जे गरिरहेका छन्, त्यो उमेरमा अरूलाई गर्न कठिन छ । मलाई लाग्छ– उनले यो सिजनलाई करिअरको उत्कृष्टमध्येकै एक उत्कृष्ट सिजन बनाउँदैछन्,’ डिबालाले भने ।

डिबालाले रोनाल्डोसँग सुरुआती टोलीमा खेल्दा आफूलाई धेरै सजिलो हुने बताए । ‘हो, उनीसँग खेल्दा म आफूलाई सहज र थप विश्वस्त पाउँछु । किनभने, उनले टिमलाई अनेक हिसाबले सहज बनाइरहेका हुन्छन् । गोल नगर्दा पनि उनले विपक्षीलाई मिनेट–मिनेट दबाबमा राखिरहेका हुन्छन्, जुन कुराले खेलमा ठूलो अर्थ राख्छ,’ डिबालाले भने ।

डिबालाले रोनाल्डोका लागि असिस्ट गर्न पाउँदा खुसी लाग्ने पनि बताए । ‘उनका लागि असिस्ट गर्न पाउँदा खुसी लाग्छ । उनले पनि मलाई गोल गर्न उत्तिकै सहयोग गरिरहेका हुन्छन् । उनी आफू मात्र गोल गरौं भन्ने खेलाडी होइनन् । हामीमा कुनै प्रतिस्पर्धा छैन, साझेदारी छ,’ डिबालाले भने, ‘हिगुइन वा डग्लस, सबैसँग मेरो यही शैली हुन्छ । किनभने, हाम्रा लागि टिमको जित ठूलो हो ।’

डिबालाले आफ्ना लागि यो सिजन निकै राम्रो भइरहेको पनि बताए । ‘अवश्य पनि, सार्रीको योजनामा म छु । गएको सिजनभन्दा मैले बढी समय पाइरहेको छु । र, गोल पनि गरिरहेको छु,’ डिबालाले थपे, ‘टिमका लागि गोल गर्न र खेल जिताउन पाउँदा खुसी लाग्छ ।’

डिबालाले यस सिजन आफूहरूले च्याम्पियन्स लिग र घरेलु लिगलाई प्रमुख लक्ष्य बनाएको बताए । ‘लिगमा हामीले अब ४ अंकको अग्रता बनाएका छौं, यो टिमका लागि निकै राम्रो कुरो हो । अवश्य पनि, हामी लिग उपाधिलाई हरेक वर्ष सुरक्षित गर्न चाहन्छौं । यस वर्ष पनि,’ उनले थप, ‘तर, यसपटक च्याम्पियन्स लिग हाम्रो प्रमुख लक्ष्य हो । त्यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं ।’

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार २०:४४
Loading...