सावित्रा र अनिता आई लिग खेल्न भारत उडे

काठमाडौं, माघ ७
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) र स्टार मिडफिल्डर अनिता बस्नेत भारतीय महिला फुटबल लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरू आज मंगलबार भारत उडेका हुन् । गत सिजन पनि यी दुवै खेलाडीले भारतीय लिग खेलेकोमा यसपटक पनि दुवै खेलाडीलाई क्लबले अनुबन्ध गरेका हुन् ।

तर, यसपटक पनि अनिता र सावित्राले फरक–फरक क्लबबाट खेल्नेछन् । गत सिजन दुवै सेथु क्लबमा आबद्ध थिए । यसपटक अनिताले गत वर्षकै सेथु एफसीबाट खेल्दा सावित्राले नयाँ क्लब गोकुलम केराला एफसीबाट खल्नेछिन् । दुवै क्लबले खेलाडीसँग मात्रै एक महिना (लिग चलुन्जेलसम्म) का लागि सम्झौता गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।

महिला लिग यही शुक्रबारदेखि सुरु हुँदैछ । लिगमा जम्मा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । ६–६ क्लबलाई दुई समूहमा बाँडेर खेलाइनेछ । जसमा सावित्राको टिम गोकुलम समूह ‘बी’मा छ भने अनिताको टिम सेथु समूह ‘ए’मा छ । सेथु गत जिनको विजेता टोली हो । दुवै समूहका टप टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

गत सिजन अनिाताले सेथुका लागि शानदार प्रदर्शन गरेकी थिइन् । उनले १५ गोल गर्दै तीन ह्याट्रिक हानेकी थिइन् । तर, अनिताले भने कमै मात्र समय पाइन् । उनले बैंग्लोरविरुद्ध डेब्यु खेलमा १ गोल गरेकी थिइन् । एक खेलमा एकजना मात्रै विदेशी (भारतभन्दा बाहिरका) खेलाउन पाइने नियम रहेकाले अनिताले मैदानमा पर्याप्त समय नै पाएकी थिइनन् । तर, यसपटक फरक–फरक टोलीमा रहेकाले अनिताले गत सिजनको भन्दा बढी खेल्न पाउनेछिन् ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १९:०४
Loading...