कोपा इटालियामा आजदेखि क्वार्टरफाइनलका खेल हुँदै

काठमाडौं, माघ ७
इटालीको नकआउट फुटबल प्रतियोगिता कोपा इटालियामा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । अन्तिम १६ का खेल सकिएको सातादिनमै अन्तिम आठका खेल हुन लागेको हो ।

जसमा आज एक खेल मात्रै हुनेछन् । आज हुने खेलमा नापोली र लाजियोको रोमाञ्चक भिडन्त हुनेछ । यसअघि अन्तिम १६ मा नापोलीले पेरुगियालाई २–० ले हराएको थियो भने लाजियोले क्रेमोन्सेसलाई ४–० ले हराएको थियो ।

आजको यो खेललाई अन्तिम आठको सबैभन्दा महत्त्वपूर्ण खेल मानिएको छ । घरेलु लिग सिरी ए मा पछिल्ला दुई खेलमा लगातार हारेको नापोलीले आज यो खेल आफ्नो घरेलु मैदानमा खेल्दा पछिल्लो समय उत्कृष्ट लयमा रहेको लाजियोको कडा चुनौती सामना गर्नेछ ।

हाल घरेलु लिगमा लाजियो ४५ अंकसहित तेस्रो स्थानमा छ भने नापोली २४ अंकसहित मात्रै ११औं स्थानमा छ । लिगमा अहिले नापोली लाजियोभन्दा २१ अंकले पछि छ ।

नापोली आज कुनै पनि हालतमा आफ्नो घरमा लाजियोलाई हराएर प्रतियोगिताको सेमिफाइनल पुग्ने दाउमा छ । तर, उसका लागि बलियो स्थितिमा रहेका लाजियो कठिन प्रतिस्पर्धी हुने पक्का छ ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०९:४४
Loading...