रियल मड्रिडले भित्र्यायो नयाँ ब्राजिलियन स्टार

काठमाडौं, माघ ७
स्पेनिस क्लब रियल मड्रिडले नयाँ ब्राजिलियन युवा खेलाडी अनुबन्ध गरेको छ । रियलले १८ वर्षका युवा मिडफिल्डर रेनियरलाई ब्राजिलकै क्लब फ्लामेन्गोबाट अनुबन्ध गरेको हो । सोमबार रियलले अफिसियल रूपमा रेनियर भित्र्याएको घोषणा गरेको हो ।

क्लबका अनुसार रेनियरले अनुबन्धसँगै आगामी ६ वर्षका लागि सम्झौता गरेका छन्, जसअनुसार उनी सन् २०२६ को जुनसम्म रियलमा हुनेछन् । रियलले रेनियरका लागि ३० मिलियन युरो सरुवा फी तिरेको छ ।

रेनियर आक्रामक शैलीका मिडफिल्डर हुन् । रेनियरलाई रियलले तत्काल ‘बी’ टिममा राखेर एक सिजन प्रक्षिण गराउनेछ साथै सिनियर टिममा पनि डेब्यु गराउनेछ । रेनियरको अनुबन्धसँगै रियलको टोलीमा ब्राजिलका युवा खेलाडीको संख्या बढेको छ ।

यसअघि पनि ब्राजिलका डिफेन्डर मिलिटाओ, भिनिसियस जुनियर, रोड्रिगोलगायत खेलाडी छन् । रेनियरको अनुबन्धसँगै रियलको भावी टोलीमा ब्राजिलका खेलाडीको ठूलो बाहुल्यता रहने देखिएको छ । यसअघि नै मार्सेलो, कासेमिरोजस्ता स्टार खेलाडीमा टोलीमा छन् ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०८:४७
Loading...