रोनाल्डो र मेस्सीबीच रोमाञ्चक प्रतिस्पर्धा

एजेन्सी, माघ ६
विश्व फुटबलका दुई खास प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीबीच लिग गोलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । स्पेनिस बार्सिलोनाबाट खेलिरहेका मेस्सीले हालको ताजा अवस्थामा कूल लिग गोलमा इटालियन युभेन्टसका रोनाल्डोलाई १ गोलले पछि छाडेका छन् ।

हालसम्म युरोपियन टप–५ लिगमा मेस्सीले कूल ४३३ गोल गरेका छन् । यता, रोनाल्डोका नाममा ४३२ गोल छ, जुन मेस्सीको भन्दा मात्रै १ गोलले कमी हो ।

गत राति रोनाल्डो र मेस्सी दुवैले एकैपटक आ–आफ्नो खेल खेले । बार्सिलोनाले आफ्नो घरमा ग्रानाडासँग खेलिहरँदा सोही समयमा रोनाल्डोको टिम युभेन्टसले पार्माविरुद्ध आफ्नै घरमा खेलिरहेको थियो । पार्माविरुद्ध रोनाल्डोले २ गोल गरेर सुरुआती समयमा मेस्सीको सर्वाधिक गोल संख्या बराबरी गरेका थिए । उनले खेलका ४३औं र ५८औं मिनेटमा गोल गरेका थिए । यी दुई गोलपछि कूल लिग गोल संख्यामा रोनाल्डो र मेस्सी दुवैको समान ४३२–४३२ भयो ।

तर, बार्सिलोनाका लागि खेलको ७६औं मिनेटमा ग्रानाडाविरुद्ध विजयी गोल गरेपछि पुनः मेस्सीले रोनाल्डोलाई पछि छाडे । मेस्सीले सन् २००४ बाट लगातार बार्सिलोनामा खेल्दै ला लिगामा कूल ४३३ गोल गरेका हुन् भने रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड र युभेन्टसबाट गरी ४३२ गोल गरेका हुन् ।

हालको ताजा अवस्थामा रोनाल्डोको भन्दा मात्रै १ लिग गोल बढी भएका मेस्सीले रोनाल्डोको भन्दा ६९ खेल कम खेलेका छन् । युरोपियन टप–५ लिगमा सर्वाधिक गोलकर्ताको तथ्यांक–

मेस्सी – गोल ४३३, खेल ४६७ (बार्सिलोना)

रोनाल्डो – गोल ४३२, खेल ५३६ (म्यानचेस्टर युनाइटेड–रियल मड्रिड–युभेन्टस)

प्रकाशित मिति ६ माघ २०७६, सोमबार २१:१९
Loading...