युनाइटेडलाई ठूलो झट्का : रासफोर्ड तीन महिना मैदानबाहिर

एजेन्सी, माघ ६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ठूलो झट्का लागेको छ । टिम घरेलु लिगमा खराब अवस्थामा रहेका बेला टोलीका प्रमुख फरवार्ड मार्कुस रासफोर्ड लामो समय मैदानबाहिर रहने भएका छन् ।

गत साता प्रिमियर लिगमा उल्भ्ससँगको खेल दौरान रासफोर्ड घाइते भएका थिए । उनको मेरुदण्डमा चोट परेको छ । उनी ३ महिनासम्म टोलीबाहिर हुने इंग्लिस मिडियाले जनाएका छन् । चोटकै कारण रासफोर्डले आइतबार लिभरपुलसँगको खेल पनि गुमाएका थिए । सो खेल लिभरपुलले २–० ले जितेको थियो ।

खबरअनुसार रासफोर्ड उल्भ्ससँगको खेलअघिबाटै फिट थिएनन् । सो खेलपछि उनलाई चोट थपिएको हो । उनको घुँडामा पनि समस्या रहेकाले त्यसको अप्रेसन गर्नुपर्ने हुँदा उनी ३ महिनासम्म टोलीबाहिर रहने देखिएको हो ।

तर, क्लब युनाइटेडले भने रासफोर्डको चोटको अवस्थाबारे अफिसियल रूपमा बताएको छैन । चिकित्सक टोलीको सम्पूर्ण चेकजाँच र सातादिनको निगरानीपछि उनको उपचार कसरी हुने र कहिलेसम्म मैदानाहिर रहने भन्ने थाहा हुनेछ ।

रासफोर्डले जारी सिजन युनाइटेडका लागि घरेलु लिगमा २२ खेलबाट १४ गोल गर्दै ४ गोलमा असिस्ट गरेका छन् भने अन्य प्रतियोगितामा ७ खेलबाट ५ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् ।

युनाइटेड हाल लिगमा २३ खेलपछि ३४ अंक बनाएर पाँचौं स्थानमा छ । रासफोर्ड घाइते भएसँगै अब प्रशिक्षक ओले गुनरमाथि चिन्ता बढेको छ भने टोलीमाथि दबाब बढेको छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार २०:४८
Loading...