रोनाल्डोका नाममा एकसाथ बने दुई नयाँ रेकर्ड

काठमाडौं, माघ ६
इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एकै खेलबाट दुई महत्त्वपूर्ण रेकर्ड बनाएका छन् । गत राति सिरी ए फुटबलमा आफ्नो घरमा पार्माविरुद्ध २–१ को जित निकाल्नेक्रममा २ गोल गरेका रोनाल्डोका नाममा दुई रेकर्ड थपिएको हो ।

रोनाल्डोले खेलको ४१औं मिनेटमा ब्लासी माटुइडीको पासमा पहिलो गोल गरेका थिए भने ५८औं मिनेटमा पाउलो डिबालाको पासमा दोस्रो गोल गरेका थिए । यी दुई गोलसँग रोनाल्डोले दुई रेकर्ड बनाएका हुन् ।

सिरी ए इतिहासमा लगातार ७ खेलसम्म गोल

३४ वर्षका रोनाल्डो अब इटालीको लिगमा सबैभन्दा धेरै खेलसम्म लगातार गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले सिरी ए का पछिल्ला ७ खेलमा लगातार गोल गरेका छन् । उनले ७ खेलबाट कूल ११ गोल गरिसकेका छन् ।

यसअघि लिगमा सबैभन्दा धेरै खेलसम्म लगातार गोल गर्ने खेलाडीको रेकर्ड युभेन्टसकै लिजेन्ड माइकेल प्लाटिनी र रोेवेर्टाे बेटेगाकाको नाममा थियो । तर, अब रोनाल्डो पनि उनीहरूसँगै तेस्रो खेलाडी बनेका छन्, जसले ७ खेलसम्म लगातार गोल गरेका छन् । अबको खेलमा रोनाल्डोले गोल गरे उनले सो रेकर्ड भंग गर्दै आफ्नो नाममा लेखाउनेछन् ।

रोनाल्डोको करिअरमा लागि ७ खेलमा लगातार गोल नै रेकर्ड भने होइन । रियल मड्रिडमा छँदा उनले १३ खेलसम्म र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा छँदा ८ खेलसम्म लगातार गोल गरेका थिए, ला लिगामा उनको रेकर्ड बार्सिलोनाका लिओनल मेस्सीको भन्दा राम्रो हो । मेस्सीले १६ वर्षको दौरान ला लिगामा सबैभन्दा धेरै ११ खेलसम्म मात्रै लगातार गोल गरेका छन् ।

लगातार १४ सिजन १५ गोल

आगामी फेब्रुअरी महिनाबाट उमेरले ३५ वर्ष टेक्न लागेका पोर्चुगिज फरवार्ड अब युरोपियन टप–५ लिगमा लगातार १४ सिजनसम्म १५ गोल गर्ने एक्लो खेलाडी बनेका छन् । हालसम्म रोनाल्डोबाहेक यस्ता कोही पनि खेलाडी छैनन्, जसले टप लिगमा लगातार १४ सजन १५ गोल गरेको होस् ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १७:४३
Loading...