युभेन्टसको महत्त्वपूर्ण जितमा चम्किए रोनाल्डो

काठमाडौं, माघ ६
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनको मदतमा इटालियन युभेन्टसले घरेलु लिग सिरी ए फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको २०औं खेलमा युभेन्टसले पाहुना टोली पार्मालाई २–१ ले हरायो ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा २ वटै गोल रोनाल्डोले गरे । उनले पहिलो गोल ४३औं मिनेटमा गरे । तर, ५५औं मिनेटमा पार्माका लागि आन्द्रेस कोर्नेलिउसले गोल गर्दै खेल १–१ बनाए ।

त्यसको ३ मिनेटमै रोनाल्डोले पाउलो डिबालाको पासमा व्यक्तिगत दोस्रो गोल गरेर घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा थप गोल नभएपछि खेल युभेन्टसले जित्यो ।

अब यो जितसँगै युभेन्टसले २० खेलबाट ५१ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । उसले इन्टर मिलानलाई स्पष्ट ४ अंकले पछि पारेको छ । युभेन्टसका लागि उपाधि होडमा पार्माविरुद्धको जित निकै महत्त्वपूर्ण हुनेछ । यता, पराजित पार्मा भने २८ अंकसहित सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०३:२६
Loading...