एनफिल्डमा युनाइटेडमाथि लिभरपुलको रोमाञ्चक जित : सालाहको कीर्तिमानी गोल

काठमाडौं, माघ ५
यो सिजन घरेलु प्रिमियर लिग फुटबलमा अपराजित रहेको लिभरपुलले अर्को रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले भ्रमणकारी टोली मयानचेस्टर युनाइटेडलाई एनफिल्डमा २–० ले स्तब्ध बनायो ।

पहिलो हाफमा २ वटा गोल भिएआरले रद्द गरे पनि लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदानमा ३ अंक जोड्न सफल भयो । लिभरपुलका लागि खेलको १४औं मिनेमा भर्जिल भान डाइकले अर्नोल्डको फ्रि किकमा हेडिङ गोलमार्फत् सुन्दर गोल गरेका थिए । खेलको २७औं मिनेटमा रोवर्ट फर्मिन्हो र ३५औं मिनेटमा विज्नाल्डुमको गोल भिएआरले रद्द गरिदिएको थियो ।

भान डाइकको गोलको अग्रता लिएर लिभरपुल कठिन जिततर्फ अघि बढेका बेला ९० मिनेटपछि थपिएको समयमा मोहमद सालाहले सोलो गोल गरे । गोलकिपर एलिसन बेकरले बक्सबाट दिएको लामो पासमा सालाहले एक्लै बल लगेर युनाइटेडका गोलकिपरका अघिबाटै गोल गरेपछि खेल लिभरपुलले खेल २–० ले जित्यो ।

यससँगै सालाहले युनाइटेडविरुद्ध पहिलो गोल पनि गरेका छन् । यसअघि उनले युनाइटेडविरुद्ध गोल गर्न सकेका थिएनन् । तर, यसपटक एनफिल्डमा युनाइटेडको जालीमा आफ्नो नामको बल चुमाउन सफल भए ।

खेलमा युनाइटेडले पटक–पटक गोलका अवसर बनाए पनि उसका खेलाडी एन्थोनी मार्सियाल पटक–पटक चुकेपछि युनाइटेड खेलमा फर्किन असफल भएको थियो ।

अब यो जितसँगै लिभरपुल २२ खेलसम्म अपराजित रहेको छ । उसले मात्रै १ खेल बराबरी गरेर २१ खेल जितेको छ । लिभरपुल जारी सिजन युरोपियन लिगमा अपराजित रहने एक मात्रै टिम हो । ऊ अब ६४ अंकसहित लिगको शीर्ष स्थानमा छ । लिभरपुलले अब एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछि पारेको छ । यता, पराजित युनाइटेड भने ३४ अंक बनाएर पाँचौं स्थानमा यथावत छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ००:२५
Loading...