प्रिमियर लिग : भर्डी पेनाल्टीमा चुक्दा लेस्टर सिटी पराजित

काठमाडौं, माघ ५
स्टार फरवार्ड जिमी भर्डी पेनाल्टीमा चुक्दा लेस्टर सिटी प्रिमियर लिग फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा बर्नलीले लेस्टरलाई आफ्नो घरमा २–१ ले स्तब्ध बनायो ।

अवे मैदानमा लेस्टरले खेलको ३३औं मिनेटमा हार्भे बार्नेसको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ५६औं मिनेटमा बर्नलीका लागि क्रिस उडले गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेलको ६८औं मिनेटमा लेस्टरले पेनाल्टी पायो ।

तर, भर्डीको पेनाल्टी बर्नलीका गोलकिपरले शानदार ढंगले रोकेपछि लेस्टरलाई झट्का लागेको थियो । खेल बराबरीतर्फ अघि बढेका बेला लेस्टर त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला बर्नलीका लागि ७९औं मिनेटमा एस्ले वेस्टउडले गोल गरे । सो गोलपछि लेस्टर खेलमा फर्किन सकेन । र, खेल बर्नलीले २–१ ले जित्यो

अब यो हारपछि लेस्टर २३ खेलपछि ४५ अंक बनाएर तेस्रो स्थानमै सीमित भएको छ । बर्नली २७ अंक जोडेर १४औं स्थानमा चढेको छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार २२:१५
Loading...