सिरी ए : उडिनेसमाथि एसी मिलानको रोमाञ्चक जित

काठमाडौं, माघ ५
इटालियन सिरी ए लिगमा एसी मिलानले रोमाञ्चक जित निकालेको छ । आफ्नो घरेलु मैदानमा आइतबार राति भएको खेलमा मिलानले पछि परेको अवस्था उल्टाएर महत्त्वपूर्ण जित निकालेको हो ।

पाहुना टोली उडिनेसले खेलको छैटौं मिनेटमै जेन्स लार्सेनको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ४८औं मिनेटमा मिलानका लागि एन्टे राबिकले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि खेलको ७१औं मिनेटमा मिलानका लागि थियो हर्नान्डेजले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । तर, पाहुना टोली उडिनेस फेरि खेलमा फर्कियो । ८५औं मिनेटमा केभिन लासाङ्गनाले गोल गरेर खेल २–२ बनाए । त्यसपछि बराबरीतर्फ अघि बढेको खेलमा मिलानले इन्जुरी समयमा विजयी गोल हान्यो । राबिकले नै थपिएको तेस्रो मिनेटमा गोल गरेपछि खेल मिलानले ३–२ ले जित्यो ।

अब यो जितपछि मिलानले अंक तालिकामा अवस्था सुधारेको छ । मिलान २० खेलबाट २८ अंक जोड्दै लिगको आठौं स्थानमा चढेको छ । पराजित उडिनेस २४ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १९:५१
Loading...