रेलिगेसन जोनको मालोर्साद्वारा भ्यालेन्सियाको धुलाइ !

काठमाडौं, माघ ५
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया लज्जास्पद हारको सिकार भएको छ । आइतबार राति भएको लिगको २०औं खेलमा भ्यालेन्सियालाई रेलिगेसन जोनको मालोर्साले आफ्नो घरेलु मैदानमा ४–१ ले स्तब्ध बनायो ।

आफ्नो घरमा मालोर्साका लागि ३ जना खेलाडीले गोल गर्दा पाहुना टोली भ्यालेन्सिया ५१औं मिनेटमा १० खेलाडीमा झरेको थियो । भ्यालेन्सियाका कप्तान ड्यानिएल पारेजो दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाँदै मैदान छाडेपछि भ्यालेन्सियालाई ठूलो झट्का लागेको थियो ।

घरेलु टोली मालोर्साले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । उसका लागि सातौं मिनेटमा एन्टोनिओ जोसे राइल्लोले गोल गरेका थिए । त्यसपछि खेलको २२औं मिनेटमा एन्टे बुदिमिरले गोल गरेभने ४१औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि मालोर्सा पहिलो हाफमा ३–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५१औं मिनेटमा भ्यालेन्सियाका कप्तान रातो कार्ड खाँदै मैदान छाडेपछि मालोर्साले चौथो गोल पनि थप्यो । ७९औं मिनेटमा मालोर्साका लागि ड्यानिएल रोड्रिग्वेजले गोल गर्दै मालोर्सालाई फराकिलो जिततर्फ अघि बढाएका थिए । तर, ८२औं मिनेटमा भ्यालेन्सियाका लागि फेर्रान टोरेजले गोल गरेपछि मालोर्साको जित ४–१ मा खुम्चियो ।

अब यो जितसँगै मालोर्सा रेलिगेसन जोनबाट माथि उक्लिएको छ । उसले २० खेलबाट १८ अंक जोडेर १७औं स्थानमा चढेको छ । पराजित भ्यालेन्सिया ३१ अंकसहित सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १९:१६
Loading...