क्याम्प नोउमा उत्रिनुअघि बार्सिलोनालाई डर्विनको कडा चुनौती

एजेन्सी, माघ ५
स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोना र ग्रानाडाको खेल हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने यो खेल पाहुना टोली ग्रानाडाका लागि प्रतिष्ठाको खेल हुनेछ भने बार्सिलोनाका लगि त्योभन्दा ठूलो लडाइँ हुनेछ ।

गत साता मात्रै साउदी अरेबियामा सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग हारेपछि नयाँ प्रशिक्षकमा क्विके सेटिनलाई नियुक्त गरेर बार्सिलोना पहिलो खेल घरेलु मैदानमा खेल्दैछ । यसकारण पनि बार्सिलोनाका लागि यो खेल महत्त्वपूर्ण छ । बार्सिलोना आज दबाबबीच क्याम्प नोउमा उत्रिनेछ ।

त्यसमा पनि ग्रानाडासँग यसअघिको पहिलो लेगको खेल उसकै घरमा २–० ले हारेको बार्सिलोना आज आफ्नो घरमा उत्रिँदा नयाँ प्रशिक्षकलाई जितसहित स्वागत गर्न मात्रै चाहँदैन, यसअघिको हारको बदलासमेत लिन चाहन्छ ।

सो खेलअघि ग्रानाडाका भेनेज्वेलन फरवार्ड डर्विन मासिसले बार्सिलोनालाई कडा चुनौती दिएका छन् । ‘मार्सा’सँगको विशेष कुराकानीमा उनले बार्सिलोनाविरुद्ध क्याम्प नोउमा उत्रिँदा एक रोमाञ्चक रात हुने बताएका छन् । उनले बार्सिलोना अहिले दबाबमा रहेकाले आफूहरूले त्यसको फाइदा उठाएर उनीहरूलाई लगातार दोस्रो हार खुवाउन आतुर रहेको बताए ।

‘हामीले यो सिजन ८ खेल मात्रै जितेका छौं । तर, यो ठूलो कुरा होइन । क्याम्प नोउमा खेल्दा हाम्रो लक्ष्य स्पष्ट जित हो । हामी बार्सिलोनासँग नहार्न कुनै कसर बाँकी राख्दैनौं,’ डर्विनले भने, ‘बार्सिलोनालाई यो कुरा निकै राम्रोसँग थाहा छ, उनीहरूका लागि हामी खतरापूणै टिम हौं ।’

डर्विनले बार्सिलोनाका नयाँ प्रशिक्षकको पहिलो खेल सुखद् हुनेमा आशंका व्यक्त गर्दै घुमाउरो पारामा चुनौती दिए । ‘आज बार्सिलोनाको टच लाइनमा नयाँ बोस हुनेछन् । र, उनी हामीलाई हराएर डेब्यु सुखद् बनाउन चाहन्छन् । तर, ९० मिनेटमा जे पनि हुन सक्छ,’ डर्विनले भने ।

डर्विनले घरेलु मैदानमा बार्सिलोना बढी आक्रामक हुने भन्दै हजारौं घरेलु दर्शकमाझ खेल्न सहज नहुने बताए । ‘उनीहरूलाई आज लाखौं घरेलु समर्थकको साथ हुनेछ, यो कुनै पनि टिमका लागि ठूलो थप शक्ति हो । मलाई थाहा छ, यो कुराले हामीलाई चर्को दबाबमा राख्नेछ,’ डर्विनले भने, ‘तर, उनीहरूसँग यस्ता कमजोरी छन्, जुन हामीलाई खेल जित्न काम लाग्नेछन् ।’

हाल बार्सिलोना एक खेल बढी खेलेको रियल मड्रिडभन्दा ३ अंकले पछि रहेर दोस्रो स्थानमा छ । रियलको खातामा ४३ र बार्सिलोनाको खातामा ४० अंकक छ । जारी सिजन बार्सिलोनाले १२ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ । यता, ग्रानाडाले भने जारी सिजन मात्रै ८ खेल जितेर ३ खेल बराबरी गर्दा ८ खेल हारेको छ । ग्रानाडा हाल लिगको २७ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १८:२०
Loading...