रोनाल्डो सिरी ‘ए’ लिगमा नयाँ रेकर्ड नजिक : आज राति पूरा गर्लान् ?

काठमाडौं, माघ ५
इटालियन सिरी ए फुटबलमा युभेन्टस आज राति लिगको २०औं खेल आफ्नो घरेलु मैदानमा पार्माविरुद्ध खेल्दैछ । राति १ः३० बजेबाट सो खेल हुँदा युभेन्टसका टिमका लागि शीर्ष स्थानमा अग्रता कायमै राख्न सो खेल जति महत्त्वपूर्ण हुन्छ, त्यत्ति नै महत्त्वपूर्ण टोलीका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि पनि हुनेछ ।

रोनाल्डो आज राति पार्माविरुद्ध घरेलु मैदानमा पाहुना टोलीविरुद्ध खेल्दा कम्तीमा १ गोल गर्दै सिरी ए इतिहासमै सबैभन्दा धेरै लगातार ७ खेलसम्म गोल गर्ने अन्य दुई खेलाडीको रेकर्ड बराबरी गर्ने दाउमा छन् ।

सिरी ए लिगमा हालसम्म युभेन्टसका दुई खेलाडी माइकेल प्लाटिनी र रोवेर्टो बेटेगाले सर्वाधिक धेरै ७ खेलसम्म लगातार गोल गरेका छन्, जुन लिगमा हालसम्मकै बढी हो ।

पोर्चुगलका फरवार्ड रोनाल्डोले पछिल्ला ६ खेलमा लगातार गोल गरेका छन् । र, उनी यी दुई खेलाडीको रेकर्ड बराबरी गर्न अब एक खेलमा गोल र भंग गर्न अब दुई खेलको गोलबाट टाढा छन् । यदि आज राति पार्माविरुद्ध गोल गरे रोनाल्डो लिगको इतिहासमै सबैभन्दा धेरै खेलसम्म लगातार गोल गर्ने तेस्रो खेलाडी बन्नेछन् ।

रोनाल्डोले लिगका पछिल्ला ६ खेलबाट ९ गोल गरिसकेका छन् । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका रोनाल्डोको आज राति १ मात्रै नभएर त्योभन्दा धेरै गोल गर्दै गोल संख्या बढाउने दाउ हुनेछ । उनले पार्माविरुद्ध खेल्न खास तयारी पनि गरेका छन् । लिगमा राम्रो गर्नकै लागि उनले यसअघि कोपा इटालियाको खेलमा आराम गरेका थिए । रोनाल्डोले लिगमा यो सिजन १६ खेलबाट १४ गोल गर्दै २ गोलमा असिस्ट गरिसकेका छन् । यो उनले घरेलु लिगमा सन् २०१४ यता गरेको सबैभन्दा राम्रो प्रदर्शन पनि हो ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १६:०३
Loading...