नयाँ प्रशिक्षकको कमान्डमा बार्सिलोना आज पहिलो खेल ग्रानाडासँग खेल्दै

काठमाडौं, माघ ५
नयाँ प्रशिक्षक क्विके सेटिनको कमान्डमा स्पेनिस बार्सिलोना क्लब आज पहिलो खेल खेल्दैछ । नयाँ प्रशिक्षक नियुक्त भएपछि उसले पहिलो खेल ला लिगाअन्तर्गत आफ्नै घरमा ग्रानाडासँग खेल्न लागेको हो । खेल क्याम्प नोउ रंगशालामा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघिका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पदबाट बर्खास्त गरेपछिको पहिलो खेल भएकाले यो खेललाई धेरैले महत्त्वसाथ हेरेका छन् । गत साता साउदी अरेबियामा सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग ३–२ ले हारेर उपाधि होडबाट आउट भएपछिको पहिलो खेल पनि भएकाले बार्सिलोनाका लागि आज ग्रानाडाविरुद्धको खेल अनेक हिसाबले महत्त्वपूर्ण छ ।

सुपर कपबाट आउट भएपछिको पहिलो खेल, अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेपछिको पहिलो खेल, नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो खेल । घरेलु मैदानमा हुने खेल । यी कारणले पनि आज बार्सिलोनालाई यो खेलले ठूलो महत्त्व राख्नेछ ।

ग्रानाडा त्यही टिम हो, जसले जारी सिजनको पाँचौं खेलमा गत सेम्टेबर २२ का दिन बार्सिलोनालाई २–० ले हराएको थियो । ग्रानाडाले आफ्नो घरमा मेस्सीसहितको टिमलाई नमिठो हार खुवाएको थियो ।

त्यही टिम आज सिजनको दोस्रो लेग खेल्न बार्सिलोनाको घरेलु मैदानमा उत्रिँदा उसको दाउ बार्सिलोनालाई अर्को हारको पीडा दिनु हुनेछ । यता, बार्सिलोना भने आज नयाँ प्रशिक्षकलाई आफ्नो घरमा स्पष्ट जितले स्वागत गर्न चाहन्छ भने ग्रानाडासँग पहिलो खेलको हारको बदला पनि लिने दाउमा हुनेछ ।

यता, बार्सिलोना आज यो खेल जितेर लिगको शीर्ष स्थानमा फर्किनसमेत चाहन्छ । ऊ हाल ४० अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियल मड्रिड ४३ अंकसहित शीर्ष स्थानमा छ । यदि आज ग्रानाडालाई स्पष्ट अन्तरमा हराए बार्सिलोना पुनः लिग लिडर बन्नेछ ।

आजको खेलमा कप्तान लिओनल मेस्सीसहित सबै प्रमुख खेलाडी उपलब्ध छन् । यसअघिका खेलमा टोलीबाहिर रहेका अर्थुर पनि आजको खेलबाट टोलीमा फर्किएका छन् । प्रशिक्षक सेटिनले आज क्याम्प नोउमा आफ्नो नयाँ जागिर जितबाट सुरुआत गर्न पहिलो रोजाइका टोली उतार्नेछन् ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १०:३४
Loading...