नापोली झन् खराब अवस्थामा : आफ्नै घरेलु मैदानमा लज्जास्पद हार !

काठमाडौं, माघ ५
इटालियन सिरी ए फुटबलमा नापोली अर्को नमिठो हारको सिकार भएको छ । गत राति भएको खेलमा पाहुना टोली फियोरेन्टिनाले नापोलीलाई उसकै घरमा ०–२ ले स्तब्ध बनायो ।

पछिल्लो समय घरेलु लिगमा लगातार खराब नतिजा भोग्दै आएको नापोलीले अघिल्लो खेल जिते पनि गत राति भने हार टार्न सकेन । नापोलीले पछिल्ला पाँच खेलमा चार खेल हारेर मात्रै एक खेल जितेको छ ।

च्याम्पियन्स लिग नजिकिँदै गर्दा लिगको खराब अवस्था नापोलीका लागि ठूलो चिन्ताको विषय बनेको छ । अन्तिम १६ मा नापोलीले स्पेनिस बार्सिलोना प्रतिस्पर्धी पाएको छ ।

गत राति नापोलीलाई उसकै घरमा हराउनेक्रममा फियोरेन्टिनाका लागि पहिलो गोल खेलको २६औं मिनेटमा पेडरिको चिसियाले गोल गरे । त्यसपछि खेलको ७४औं मिनेटमा डुसना भ्लाहोभिकले गोल गरेपछि खेल फियोरेन्टिनाले ०–२ ले जित्यो ।

यससँगै फियोरेन्टिना २० खेलबाट २४ अंक बनाएर १२औं स्थानमा चढेको छ । पराजित नापोली २४ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार ०८:३५
Loading...