९०औं मिनेटमा आत्मघाती गोल खाएपछि सिटी बराबरीमा रोकियो

काठमाडौं, माघ ४
खेलको ९०औं मिनेटमा आत्मघाती गोल खाएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलमा अर्को बराबरीमा रोकिएको छ । शनिबार राति भएको लिगको २३औं खेलमा सिटी अवे मैदानमा क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकियो । सिटी हारतर्फ अघि बढेका बेला सर्जियो अगुएरोले खेलको अन्त्यतिर ५ मिनेटमा २ गोल गर्दै टिमलाई जितको बाटो देखाए पनि सिटी आत्मघाती गोले अड्कियो । घरेलु टोली प्यालेसले खेलको ३९औं मिनेटमा सिन्क टोसुनको गोलबाट अग्रता लिएको थियो ।

सोही अग्रता लिएर प्यालेस जित नजिक पुगेको थियो । तर, खेलको ८२औं मिनेटमा अगुएरोले गोल गर्दै खेल १–१ बनाए । लगत्तै ८७औं मिनेटमा अगुएरोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी जितनजिक पुगेको थियो । तर, खेलको ९०औं मिनेटमा सिटीका डिफेन्डर फर्नान्डिन्होले आत्मघाती गोल गरे । प्यालेसका खेलाडीले मैदानको माथिल्लो कुनाबाट हानेको प्रहार पोस्टअघि रहेका फर्नान्डिन्होको खुट्टामा लाग्दै गोल भएपछि खेल २–२ को बराबरीमा सकियो ।

अब यससँगै दुवै टिमले अंक बाँडेका छन् । यो बराबरीपछि सिटीलाई उपाधि होडमा फर्किने बाटो भन् लामो भएको छ । सिटीको खातामा अब २३ खेलबाट मात्रै ४८ अंक छ । ऊ एक खेल कम खेलेको लिग लिडर लिभरपुलभन्दा १३ अंकले पछि । प्यालेस ३० अंकसहित नवौं स्थानमा छ । भोलि हुने आफ्नो खेलमा लिभरपुलले जिते उसले सिटीलाई १६ अंकले पछि पार्नेछ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २३:२०
Loading...