सेभिल्लालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा : चम्किए कासेमिरो

काठमाडौं, माघ ४
ब्राजिलियन मिडफिल्डर कासेमिरो चम्किएपछि स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो घरमा पाहुना टोली सेभिल्लालाई २–१ ले हरायो । सान्टियागो बेर्नाबेउमा रियललाई जिताउन कासेमिरो एक्लैले २ गोल हाने ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा खेलमा केही रोमाञ्चक दृश्य देखिए । पहिलो हाफमा सेभिल्लाका खेलाडी डे जोङको १ सुन्दर हेडिङ गोल भिएआरले रद्द गरेको थियो ।

दोस्रो हाफमा रियल आफ्नो घरमा सफल भयो । खेलको ५७औं मिनेटमा कासेमिरोले लुका जोभिकको सुन्दर ब्याक पासमा चिप प्रहारमा गोल गरेका थिए । तर, रियलको सो गोलको अग्रता धेरैबेर टिकेन । ६४औं मिनेटमा डे जोङले नै निकै शानदार प्रहारमा दर्शनीय गोल गरेर खेल १–१ बनाए ।

बराबरी गोल खाएको ५ मिनेटमै रियलका लागि कासेमिरोले लुकास भासक्वेजको पासमा हेडिङमार्फत् गोल गरेपछि खेलमा रियलले २–१ को अग्रता लियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल रियलले जित्यो ।

अब यो जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा चढेको छ । उसले २० खेलबाट ४३ अंक जोडेको छ । रियलले एक कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि छाडेको हो । पराजित सेभिल्ला ३५ अंकसहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २२:३६
Loading...