लिभरपुलका यी खेलाडी ‘सक्दो चाँडो भित्र्याउन’ क्लबलाई मेस्सीको सुझाव

एजेन्सी, माघ ४
स्पेनिस बार्सिलोनाले ब्राजिलियन खेलाडी ड्यानी आल्भेसले क्लब छाडेपछि आजसम्म उनको स्थान लिने भरपर्दा राइट ब्याक तथा असिस्ट मेसिन खेलाडी पाउन सकेको छैन । पछिल्ला सिजन बार्सिलोना त्यसै पनि कमजोर रक्षापंक्तिका कारण पटक–पटक आलोचित बन्दै आएको छ ।

यसैबेला टोलीका कप्तान लिओनल मेस्सीले भने इंग्लिस क्लब लिभरपुलका युवा स्टार खेलाडीलाई सक्दो चाँडो भित्र्याउन क्लबसँग अनुरोध गरेका छन् । ‘डन बालोन’का अनुसार मेस्सीले नयाँ प्रशिक्षक क्विके सेटिनमार्फत् क्लब बोर्डलाई लिभरपुलका इंग्लिस खेलाडी ट्रेन्ट अलेक्सान्डर अर्नोल्डलाई यथाशक्य चाँडो भित्र्याउन अनुरोध गरेका हुन् ।

मात्रै २१ वर्षका युवा खेलाडी लिभरपुलका लागि पछिल्ला वर्ष राइट ब्याक पोजिसनमा प्रमुख हतियार बन्दै आएका छन् । प्रशिक्षक जोर्गेन क्लब उनको पहिलो रोजाइमा पर्दै आाएका छन् । युवा र तीब्र गतिका डिफेन्डर खेलाडी ‘असिस्ट मेसिन’ खेलाडीका रूपमा परिचित छन् ।

अर्नोल्ड उनै खेलाडी हुन्, जसले गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुल र बार्सिलोना दोस्रो लेगको खेलमा एनफिल्डमा भिड्दा लिभरपुलका लागि विजयी तथा चौथो गोलका चलाखीपूर्वक कर्नर किक हानेका थियो । उनको त्यही कर्नर किकका कारण बार्सिलोनाले चौथो गोल खाएर लगातार चौथोपटक च्याम्पियन्स लिगबाट आउट भएको थियो । सो खेलपछि धेरैले उनलाई ‘बार्सा किलर’ खेलाडी भनेर पनि उपमा दिएका छन् ।

कप्तान मेस्सीले टोलीमा दीर्घकालीन रूपमा रक्षापंक्ति सम्हाल्न सक्ने युवा खेलाडी आवश्यक रहेका बेला अर्नोल्ड हालको अवस्थामा सबैभन्दा उचित खेलाडी भएको ठानेका छन् । अर्नोल्ड मात्रै २१ वर्षका भएकाले बार्सिलोनामा उनले लामो समय खेल्न सक्ने मेस्सीको बुझाइ छ ।

त्यत्ति मात्रै हैन, मेस्सी अर्नोल्ड असिस्ट गर्नमा माहिर भएकाले उनीसँग लोभिएको बताइन्छ । मेस्सीले क्लबलाई अर्नोल्ड भित्र्याउन सके उनी बार्सिलोनाका लागि ‘दोस्रो ड्यानी आल्भेस’ हुने भन्दै क्लबलाई सोहीअनुसार योजना बनाउन र काम गर्न बोर्डलाई सुझाव दिएको खबर बाहिरिएको छ । जारी सिजन अर्नोल्डले लिभरपुलका सबैखाले प्रतियोगिताबाट २८ खेल खेल्दै २ गोल गरेर ९ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १९:४४
Loading...