‘एक अवस्था’ मा रियल मड्रिडले एमबाप्पेलाई यसै समरमा भित्र्याउने

एजेन्सी, माघ ४
स्पेनिस रियल मड्रिडले एक अवस्थामा यसै समर सिजनमा फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे भित्र्याउने सम्भावना बढेको छ । यदि यो सिजन रियलले च्याम्पियन्स लिग जित्न नसके उसले समरमै फ्रान्सका विश्वकपविजेता फरवार्ड भित्र्याउने प्रबल सम्भावना रहेको खबर फ्रेन्च र स्पेनिस मिडियाले छापेका छन् ।

रियलले यसपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी प्रतिस्पर्धी पाएको छ । यो खेल अन्तिम १६ कै सबैभन्दा कठिन मानिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान यसपटक जसरी पनि च्याम्पियन्स लिग जित्ने अभियानमा छन् ।

तर, यदि टिम उपाधि जित्न चुके उनले समरमै एमबाप्पे अनुबन्ध निम्ति कसरत थाल्नेछन् । यसअघि भने रियलले सिजन २०२०–२१ को अन्त्यपछि मात्रै एमबाप्पे भित्र्याउने योजना बनाएको थियो । तर, यो सिजन युरोपियन उपाधि जित्न नसके रियलले एक सिजनअघि नै एमबाप्पेलाई भित्र्याउन कसरत थाल्नेछ ।

यता, एमबाप्पेले पनि यसअघि नै रियल जाने संकेत गरिसकेका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले ‘रियलले मलाई पर्खिनुपर्छ’ भनेका थिए । रियलका प्रशिक्षक जिदान एमबाप्पेलाई कुनै पनि हालतमा टोेलीमा भित्र्याउने योजनामा छन् ।

रियलमा एमबाप्पेलाई पूर्वखेलाडी त्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रूपमा हेरिएको छ । एमबाप्पे आफैं पनि रियलका फ्यान भएको र रोनाल्डोलाई आदर्श मान्ने हुँदा उनीले रियलबाट ७ नम्बर जर्सी लगाउने करिब–करिब पक्का छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १५:०१
Loading...