रोनाल्डो २०१४ यताकै उत्कृष्ट लयमा : हेर्नुहोस् तथ्यांक

काठमाडौं, माघ ४
इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सन् २०१४ यताकै उत्कृष्ट लयमा देखिएका छन् । उमेरले ३४ पुरा पुगेर फेब्रुअरीबाट ३५ वर्ष टेक्न लागेका पोर्चुगिज फरवार्ड घरेलु लिगमा ६ वर्षयताकै सबैभन्दा राम्रो अवस्थामा देखिएका हुन् । अर्थात् पछिल्ला ६ वर्ष रोनाल्डोले घरेलु लिगमा गरेको प्रदर्शन र तथ्यांकलाई हेर्ने हो भने उनी यो सिजन सबैभन्दा राम्रो अवस्थामा छन् ।

सबैखाले प्रतियोगितामा यो सिजन रोनाल्डोका लागि रियल मड्रिडमा छँदाको जस्तो शानदार नरहे पनि घरेलु लिगको मात्रै तथ्यांक तुलना गर्ने हो भने उनी ६ वर्षयताकै सबैभन्दा राम्रो अवस्थामा देखिएका छन् । अर्थात् जारी सिजन आधा सिजन सकिँदा रोनाल्डोले सिरी ‘ए’मा जति गोल र असिस्ट गरेका छन्, त्यो उनले २०१४ यता घरेलु लिगमा गरेको प्रदर्शनमध्ये सबैभन्दा राम्रो हो ।

जारी सिजन रोनाल्डोले सिरी ‘ए’मा १६ खेलबाट १४ गोल गरिसकेका छन् भने २ गोलमा असिस्ट गरेका छन् । जसमा एक ह्याट्रिकसमेत सामेल छ । यो तथ्यांकलाई पछिल्ला ६ वर्षका सुरुआती १६ खेलको तथ्यांकसँग तुलना गर्दा जारी सिजन रोनाल्डोका लागि सबैभन्दा राम्रो देखिएको छ ।

अर्थात्, रोनाल्डोले यस सिजन सुरुआती १६ खेलबाट जति गोल गरेका छन्, त्यत्ति गोल लिगमा २०१४ यता गर्न सकेका थिएनन् । गत सिजन रोनाल्डोले सिजनभरमा कूल २१ गोल मात्रै लिगमा गरेका थिए । तर, यो सिजन उनले आधा सिजन बाँकी छँदै १४ गोल गरिसकेका छन् । रियलमा छँदा रोनाल्डोले सिजन २०१७–१८ मा कूल २६ गोल गरेका थिए भने २०१६–१७ मा २५ गोल गरेका थिए ।

अर्को एक तथ्यले पनि रोनाल्डो यो सिजन घरेलु लिगमा उत्कृष्ट अवस्थामा छन् भन्ने देखिन्छ । त्यो के भने, लगातार ६ घरेलु लिग खेलमा गोल । सन् २०१४ पछि रोनाल्डोले पहिलोपटक यसै सिजन लगातार ६ घरेलु लिगका खेलमा गोल गरेका छन् ।

गत डिसेम्बर महिनायता रोनाल्डो युरोपका टप–५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले सो अवधिमा ९ गोल गरेका छन्, जुन अन्य खेलाडीको भन्दा बढी हो । उनीपछि पिएसजीका केलियन एमबाप्पेले ८ गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडका मार्कुस रासफोर्ड र पिएसजीकै नेइमारका नाममा पनि ७–७ गोल छ ।

यही अवस्थामा रोनाल्डो अघि बढी उनले यो सिजन घरेलु लिगमा मात्रै ३० भन्दा बढी गोल गर्ने सम्भावना छ । जारी सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट १६ गोल गरेका छन् ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १२:५४
Loading...