बार्सिलोनाका नयाँ प्रशिक्षकको बोली– ‘पहिला च्याम्पियन्स लिग जित्ने हो, ला लिगा पछि’

एजेन्सी, माघ ३
स्पेनिस बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेयता पुनः सो प्रतियोगिता जित्न त के, फाइनलसम्म पुग्न सकेको छैन । पछिल्ला चार सिजन बार्सिलोना लगातार फाइनल नपुगी आउट हुँदै आएको छ । गत सिजन बार्सिलोना सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग ४–० को सिकार भयो भने त्यसअघि इटालियन रोमासँग दोस्रो लेगमै ३–० ले सिकार भएको थियो ।

तर, जारी सिजन बार्सिलोना हरहालतमा च्याम्पियन्स लिग जित्ने अभियानमा छ । हालै नयाँ प्रशिक्षमा क्विके सेटिन नियुक्त भएपछि बार्सिलोनाले सो उपाधि जित्न सक्ने कतिपयले दाबी गरेका छन् । तर, बार्सिलोना फेरि पनि च्याम्पियन्स लिग जित्ने लय र दिशामा भने देखिँदैन । नयाँ प्रशिक्षकले टिमलाई अबक दिनमा कसरी अघि बढाउँछन् भन्ने कुराले यसको दिशा तय गर्नेछ ।

यसैबीच, बार्सिलोनाका नयाँ प्रशिक्षक सेटिनले भने आफूहरूले यसपालि युरोपको प्रतिष्ठित उपाधि जित्ने दाबी गरेका छन् । टोली सम्हालेपछि स्पेनिस पत्रिका ‘मार्सा’सँग कुरा गर्दै उनले च्याम्पियन्स लिग जित्ने दाबी मात्रै गरेका छैनन्, यसै सिजन जित्ने दाबी गरेका छन् । उनले ला लिगा पछि जिते पनि हुने तर च्याम्पियन्स लिग यसैपालि जित्ने बताएका छन् ।

‘बार्सिलोनाले ला लिगा पछिल्ला वर्ष पटक–पटक जितेको छ । तर, च्याम्पियन्स लिग नजितेको चार वर्ष भइसकेको छ,’ सेटिनले भनेका छन्, ‘म टिमलाई सबैभन्दा पहिला यो उपाधि जिताउन चाहन्छु, ला लिगा अर्कोपालि जित्दा पनि हुन्छ ।’

सेटिनले बार्सिलोनाले अबको प्रमुख ध्यान च्याम्पियन्स लिगमा लगाउने पनि बताए । ‘मेरो अबको योजना घरेलु लिगमा शीर्षस्था कायम राख्दै च्याम्पियन्स लिगलाई प्रमुख कार्यभार बनाउनुमा हुनेछ,’ सेटिनले भने, ‘मेरो टिम यही योजना र उद्देश्यसाथ अघि बढ्नेछ । सकेसम्म हामी सबै उपाधि जित्न प्रयास गर्नेछौं ।’

सेटिनले आइतबार राति हुने आफ्नो पहिलो खेल जित्नेमा ढुक्क रहेको बताए । बार्सिलोनाले लिगको २०औं खेल आफ्नो घरमा ग्रानाडासँग खेल्दैछ । ग्रानाडा त्यही टिम हो, जसले बार्सिलोनालाई यसअघि पहिलो लेगमा २–० को सिकार बनाएको थियो । र, सेटिनको नेतृत्वमा बार्सिलोनाले पहिलो खेल त्यही टिमसँग खेल्दैछ ।

‘संयोगले मेरो पहिलो खेल क्याम्प नोउमै हुनेछ । मलाई आशा छ, घरेलु दर्शक र रंगशालामा मेरो पहिलो खेलबाट म फ्यानहरूसँग जितको खुसी साट्न सफल हुनेछु,’ सेटिनले भने ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार २०:५१
Loading...