रोनाल्डोसँग जम्दै डिबाला : यसरी फर्किंदैछन् ‘शानदार’ लयमा

काठमाडौं, माघ ३
इटालियन युभेन्टसमा गएको सिजन अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाका लागि ‘खराब सिजन’ रह्यो । टिमका लागि महत्त्वपूर्ण हिस्साका रूपमा रहे पनि उनले पर्याप्त गोल गर्न सकेनन्, न त गहिरो छाप नै छाडे । धेरैले यसलाई क्रिस्टियानो रोनाल्डो अनुबन्धले पारेको ‘असर’ भने ।

अर्थात्, स्पेनिस रियल मड्रिडबाट रोनाल्डो युभेन्टस पुगेपछि डिबालाको समय काटियो । र, भूमिका पनि काटियो । रोनाल्डो नजाँदासम्म डिबाला टोलीका प्रमुख खेलाडी थिए । पेनाल्टी र फ्रि किक आफैं हान्थे । तर, रोनाल्डो पुगेपछि पेनाल्टी र फ्रि किक रोनाल्डोले हान्न थाले । टोलीमा स्वभावैले फरवार्ड लाइन रोनाल्डोकेन्द्रित बन्ने भइहाल्यो । प्रशिक्षकले टोली बनाउँदा पनि रोनाल्डोलाई नै केन्द्रित गरेर बनाउने हुँदा डिबालाको महत्त्व घट्यो ।

टोलीका प्रमुख खेलाडी भएपछि रोनाल्डोको गोल संख्या सन्तोषजनक नै रह्यो भने डिबालाको ठूलो संख्यामा घट्यो । युभेन्टसमा रोनाल्डोको अनुबन्धको असर डिबालाको व्यक्तिगत तथ्यांकमा प्रष्टै देखियो । तर, डिबालाले कहिल्यै पनि रोनाल्डोका कारण आफू समस्यामा परेको बताएनन् । बरु, उनले त रोनाल्डोजस्तो च्याम्पियन खेलाडीसँग खेल्दाको खुसी बाँडिरहे ।

त्यसो त गत सिजन रोनाल्डो स्वयंका लागि पनि शानदार सिजन रहेन । उनले घरेलु लिगमा कूल २१ गोल मात्रै गरे भने च्याम्पियनस लिगमा ६ र सुपरकोपामा १ गरी जम्मा २८ गोल गरे, जुन रोनाल्डोका लागि दशकयताकै सबैभन्दा सानो तथ्यांक हो ।

तर, जारी सिजन डिबालाका लागि निकै राम्रो बनिरहेको छ । सँगै, रोनाल्डोको पनि अवस्था उत्तिकै शानदार छ । यद्यपि, गत सिजनको तुलनामा यो सिजन डिबालाका लागि भने धेरै राम्रो देखिएको छ । यो सिजन प्रशिक्षक सार्रीको नेतृत्वमा डिबाला र रोनाल्डो प्रमुख रोजाइमा छन् । अर्थात्, आक्रमण लाइनमा सार्रीले रोनाल्डो र डिबालाको जोडीलाई पहिलो रोजाइमा राख्दै आएका छन् । जसका कारण यी दुवै खेलाडी एकअर्काका लागि सहयोगी बन्दै आएका छन् भने दुवैको गोल संख्या पनि बढ्दो छ ।

गत सिजनको तुलना गर्दा डिबालाका लागि भने यो सिजन निकै शानदर बनिरहेको छ । गत सिजन डिबालाले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट कूल ४२ खेल खेल्दै कूल १० गोल मात्रै गरे भने २ गोलमा असिस्ट गरे । यो निकै कमजोर तथ्यांक हो ।

तर, यो सिजनको आधा सिजन बाँकी छँदै डिबालाले गत सिजनको भन्दा शानदार रेकर्ड बनाइसकेका छन् । यो सिजन मात्रै २५ खेल खेल्दा उनले ११ गोल गरेका छन्, जुन गएको सिंगै सिजनको भन्दा १ गोलले बढी हो ।

त्यस्तै, यो सिजन २५ खेलबाट उनले ९ गोलमा असिस्ट गरिसकेका छन्, जुन गएको सिंगै सिजनको भन्दा ७ असिस्ट बढी हो । गत सिजन उनले समग्रमा १२ गोलमा मात्रै सोझै सहभागी भए पनि यो सिजन आधा सिजनसम्म पुग्दा २० गोलमा सहभागी भइसकेका छन् ।

अहिले युभेन्टसमा डिबाला रोनाल्डोपछिका दोस्रो प्रमुख खेलाडी हुन् । रोनाल्डो नहुँदा फ्रि किक र पेनाल्टी आफैं हान्छन् । उनी टोलीका उपकप्तान पनि हुन् । युभेन्टसले पछिल्लोपटक खेलेको कोपा इटालियाको खेलमा पनि डिबालाले २ गोल गरेका थिए, जसमा १ गोल पेनाल्टीबाट गरेका थिए । सो खेलमा रोनाल्डोलाई विश्राम दिइएको थियो ।

यसको प्रमुख कारण भनेको डिबाला रोनाल्डोसँग पहिलो रोजाइमा पर्नु नै हो । सार्रीले रोनाल्डोसँग डिबालालाई प्राथमिकतामा राख्दा रोनाल्डोलाई मात्रै फाइदा पुगेको छैन, डिबालाले फेरि एकपटक चम्किने समय आएको छ । यसो भनौं, रोनाल्डो र डिबालाको जोडी यो सिजन निकै जमिरहेको छ ।

जारी सिजन रोनाल्डो पनि उत्कृष्ट लयमा छन् । उनले १६ गोल गर्दै २ गोलमा असिस्ट गरिसकेका छन् । गत सिजन उनले युभेन्टसका लागि सिजनभरमा २८ गोल गर्दै १२ गोलमा असिस्ट गरेका थिए । तर, गत सिजनकै तथ्यांकलाई आधार मान्दा रोनाल्डो यसपटक निकै राम्रो अवस्थामा छन् ।

हेरौं डिबालाको तथ्यांक तस्बिरमा :

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार २०:०८
Loading...