युभेन्टसलाई च्याम्पियन्स लिग र रोनाल्डोलाई छैटौं बालोन डि‘ओर पहिलो लक्ष्य : सार्री

एजेन्सी, माघ २
इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिसयो सार्रीले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई छैटौं बालोन डि‘ओर जिताउन आफू र टिमले कुनै कसर बाँकी नराखी सघाइरहेको बताएका छन् । गत राति कोपा इटालियामा उडिनेसलाई ४–० ले हराएर अन्तिम आठमा प्रवेश गरेपछि मिडियासँग बोल्दै सारीले यस्तो बताएका हुन् ।

सोक्रममा उनले यस वर्ष युभेन्टसलाई युरोपियन च्याम्पियन्स लिग र रोनाल्डोलाई छैटौं बालोन डिओर जिताउनु आफ्नो र क्लबको पहिलो लक्ष्य रहेको स्पष्ट पारे । सार्रीले रोनाल्डोले टिमलाई च्याम्पियन्स लिग जिताउन सघाउने र उनलाई बालोन डि‘ओर जित्न टिमले सघाउने बताए ।

‘म क्रिस्टियानोले छैटौं बालोन डि‘ओर जितुन् भन्ने चाहन्छु, यो मेरो पहिलो लक्ष्य हो,’ सार्रीले भने, ‘त्यसअघि च्याम्पियन्स लिग जित्न रोनाल्डोले टिमलाई सघाउनेछन् । यी दुई कुरा सँगैसँगै हुन्छन् ।’

सार्रीले यदि अहिले रोनाल्डोले छैटौं बालोन डि‘ओर जितुन् भनेर कसैले सबैभन्दा धेरै सोचिरहेको छ भने त्यो व्यक्ति आफू रहेको पनि बताए । ‘यदि कसैले साँच्चै नै क्रिस्टियानोले छैटौं बालोन डिओर जितुन् भने चिन्ता गरिरहेको छ भने त्यो व्यक्ति म हुँ । उनको बारेमा म दिनहुँ सोचिरहेको हुन्छु । र, उनलाई उत्कृष्ट प्रदर्शनका लागि सघाइरहेको छु,’ सार्रीले भने, ‘यो मेरो लक्ष्य हो र टिमको पनि लक्ष्य हो । रोनाल्डोले टिमलाई जसरी सघाइरहेका छन्, त्यसबाट उनले यति हक राख्छन् ।’

सार्रीले रोनाल्डोलाई आफूले कम महत्त्वका खेलमा टोलीमा नराख्नुको कारण उनलाई आराम दिनु रहेको बताए । ‘आजको खेलमा उनी थिएनन् । आपसी सल्लाहमै उनलाई आराम होस् भनेर टोलीमा नराखिएको हो । म उनलाई फिट राख्न चाहन्छु,’ सार्रीले भने, ‘रोनाल्डोले सबै खेल खेल्नु र गोल गर्नु पर्दैन । महत्त्वपूर्ण खेलमा सहभागी भएर गोल गरेर टिमलाई जिताए पर्याप्त हुन्छ । यसैअनुसार उनीले काम गर्नेछन् ।’

सार्रीले रोनाल्डो अहिले उत्कृष्ट लयमा फर्किएकाले टिम थप बलियो भएको र आत्मविश्वास बढेको पनि बताए । ‘क्रिस्टियानोजस्ता खेलाडी लयमा फर्किनु टिमका लागि ठूलो कुरा हो, यसले हरेक खेलाडीलाई आत्मविश्वास थप्छ । ३५ वर्ष पुग्न लाग्दा पनि उनले अहिले जसरी खेलिरहेका छन्, यो सामान्य छैन,’ सार्रीले भने, ‘उनी यो लयलाई कायम राख्दै घरेलु लिग र च्याम्पियन्स लिग जित्न चाहन्छन्, टिम चाहन्छ । यसै सिजन यो हुनेवाला छ ।’

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०९:४३
Loading...