लिग वान : मोनाकोमाथि पिएसजीको प्रभावशाली जित, एमबाप्पेको २ गोल

काठमाडौं, माघ २
फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा लिग लिडर पिएसजीले प्रभावशाली जित दर्ता गरेको छ । गत राति भएको लिगको २०औं खेलमा पिएसजीले मोनाकोलाई उसकै घरेलु मैदानमा १–४ ले हरायो ।

अवे मैदानमा पिएसजीको जितमा युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरे भने नेइमार र पाब्लो सराबियाले १–१ गोल गरे । एमबाप्पेले खेलको २४औं मिनेटमा गोल गरेर घरेलु टोलीविरुद्ध सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पिएसजीले पेनाल्टी पायो । जसमा नेइमारले कुनै गल्ती नगरी गोल गरेर पाहुना टोलीलाई ०–२ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गरी ३ गोल भए ।

खेलको ७२औं मिनेटमा पिएसजीका लागि सराबियाले गोल गरेर खेल ०–३ बनाए पनि ८७औं मिनेटमा मोनाकोका लागि टाईमोउ बाकायोकाले गोल गरेर खेल १–३ मा झारे । तर, इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल पिएसजीले १–४ ले जित्यो ।

यो जितसँगै पिएसजीले २० खेलबाट कूल ४९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पराजित मोनाको २९ अंकसहित नवौं स्थानमा छ । मोनाको पिएसजीभन्दा ठीक २० अंकले पछि छ ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:२५
Loading...