रोनाल्डो नहुँदा चम्किए डिबाला : शानदार जितसहित युभेन्टस कोपाको अन्तिम आठमा

काठमाडौं, माघ २
टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले प्रभावशाली जित दर्ता गरेको छ । कोपा इटालियाअन्तर्गत गत राति अन्तिम १६ मा भएको खेलमा युभेन्टसले सिरी ए टिम उडिनेसलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टिनी फरवार्डद्वय पाउलो डिबाला र गोन्जालो हिगुइनले गरेर ३ गोल गरे । जसमा डिबालाले २ गोल गर्दा १ गोल हिगुइनले गरे । १ गोल डग्लस कोस्टाले गरे ।

युभेन्टसले खेलको १६औं मिनेटमै हिगुइनको गोलबाट अग्रता लिएको थियो । बक्सभित्र डिबालाले चलाखीपूर्वक दिएको पासमा हिगुइनले सहजै गोल गरेका थिए । त्यसपछि २६औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बक्समा उडिनेसका गोलकिपरले डिबालालाई बल रोक्नेक्रममा लडाएपछि पाएको पेनाल्टीमा डिबालाले गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७औं मिनेटमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । उनले बक्सभित्रबाट निकै सुन्दर फिनिसिङमा गोल गरेका थिए । त्यसपछि खेलको ६१औं मिनेटमा बक्समा उडिनेसका खेलाडीले ह्यान्ड बल गरेपछि सो पेनाल्टीमा डग्लस कोस्टाले गोल हानेपछि खेल युभेन्टसले ४–० ले जित्यो ।

यससँगै युभेन्टस प्रभावशाली जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ भने उनिडनेस आउट भएको छ । प्रशिक्षक सार्रीले यस खेलमा रोनाल्डोलाई आराम दिएका थिए ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:०३
Loading...