रोनाल्डोलाई सम्झेर मेस्सी यसरी बने ‘भावुक’

एजेन्सी, माघ १
विगतमा ९ वर्ष प्रत्यक्ष प्रतिस्पर्धी रहेर खेलेका क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी अहिले फरक–फरक लिगमा छन् । अर्थात्, मेस्सी बार्सिलोनामा यथावत छन् भने रोनाल्डो २०१८ मै रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगे । तर, अहिले पनि यी दुई खेलाडीबीच कुनै न कुनै रूपमा प्रतिस्पर्धा छँदैछ ।

बार्सिलेनाका कप्तान मेस्सीले हालै एक अन्तर्वार्तामा कुरा गर्दै आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोबारे निकै प्रेमिल र सुन्दर प्रतिक्रिया दिएका छन् । उनले रोनाल्डो हाल फरक लिगबाट खेलिरहे पनि ला लिगामा उनीसँगको आफ्नो प्रतिस्पर्धा दर्शक तथा समर्थकहरूका लागि सधैं सम्झनायोग्य र ताजा रहने बताएका छन् ।

पोर्चुगलका रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल पुगेर ९ वर्ष स्पेनमा बसेर युभेन्टस हिँडेका थिए । स्पेनमा रहुन्जेल मेस्सी र रोनाल्डोबीच हरेक कुरामा कडा प्रतिस्पर्धा थियो । टिमको हार–जित, सफलता–असफलता, व्यक्तिगत तथ्यांकदेखि लिएर व्यक्तिगत अवार्डमा पनि उनीहरूबीच चर्को प्रतिस्पर्धा थियो, जुन विश्व फुटबलमा फुटबल दर्शकका लागि सबैभन्दा ठूलो आकर्षण पनि बन्यो ।

हालै मेस्सीले एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डो रियल मड्रिडबाट खेलेकै कारण पनि आफूहरूबीच खास प्रतिस्पर्धा भएको मात्रै बताएनन्, आफूले रोनाल्डोलाई एक ठूला प्रतिस्पर्धीका रूपमा अहिले पनि एकदमै मिस गर्ने बताए ।

‘यहाँ हामीबीचको प्रतिस्पर्धा निकै शानदार र विशेष थियो । मलाई लाग्छ, यो सधैं रहनेछ । यति लामो समयसम्म केन्द्र भागमा रहेर प्रतिस्पर्धा गर्नु निकै कठिन कुरा थियो । हामी जुन–जुन टोलीमा थियौं, ती दुवै उत्कृष्टमध्येका हुन् । यस कुराले पनि हाम्रा प्रतिस्पर्धालाई झन् ठूलो र रोमाञ्चक बनायो,’ मेस्सीले भनेका छन् ।

मेस्सीले रोनाल्डो र आफूबीचको जस्तो दुई खेलाडीमा केन्द्रित यति लामो प्रतिस्पर्धा फुटबल समर्थकले विरलै मात्र देख्न पाउने पनि बताए । ‘कहिल्यै हुँदैन भन्न सक्दिनँ । तर, हामीबीच जस्तो र जति लामो प्रतिस्पर्धा रह्यो, फुटबलमा यस्तो दिन आउन थुप्रै वर्ष लाग्ला । अथवा, नआउला पनि,’ मेस्सीले केही भावनात्मक हुँदै भने, ‘अझै थुप्रै वर्ष वा सयौं वर्षसम्म मानिसले हाम्रो प्रतिस्पर्धालाई याद गर्नेछन्, यो मेरो मनले भन्छ ।’

मेस्सीले रोनाल्डो रियलमा हुँदा आफ्ना लागि सधैं विशेष हुने र हरेक प्रतियोगिता कठिन बन्ने पनि बताए । ‘रोनाल्डो रियलमा हुँदाका दिन निकै विशेष थिए । क्लासिको हुँदाका दिन झन् विशेष हुन्थे । तर, अब यी दिन पुराना भए । यी कुरा हामी दुवैका लागि विशेष सम्झना बनेर रहनेछन् । कहिलेकाहीं तीन दिन सम्झिँदा म कता–कता भावनात्मक पनि हुन्छु ।’

मेस्सीले अहिले पनि आफूले रोनाल्डोलाई एक शानदार प्रतिस्पर्धीका रूपमा सम्झिने बताए । ‘उनी अहिले अर्कै लिगमा छन् । तर, म उनलाई स्पेनमा मिस गरिरहन्छु, किनभने, उनी मेरा विशेष प्रतिस्पर्धी हुन् । हामीबीच मित्रता थिएन । किनभने, हामीले ड्रेसिङ रुम बाँडेनौं । मलाई लाग्छ, क्रिस्टियानो पनि मलाई मिस गर्छन् होला,’ मेस्सीले थपे ।

मेस्सीले रोनाल्डोको तारिफसमेत गर्न भ्याए । उनले रोनाल्डो बढ्दो उमेरबीच पनि अझै उच्च बिन्दुमा रहेर खेलिरहँदा आफूलाई निकै सुन्दर लाग्ने बताए । ‘उनी मेरा प्रतिस्पर्धी हुनुको अर्थ उनी खराब हुन् भन्ने होइन । उनी उत्कृष्टमध्येका एक हुन्, म यो सधैं मान्छु । उनको करिअर निकै शानदार छ । उनीप्रति मेरो ठूलो सम्मान छ । अहिले बढ्दो उमेरमा पनि उनले जसरी खेलिरहेका छन्, त्यो निकै लोभलग्दो छ,’ मेस्सीले भने ।

मेस्सीले आफूले हालै जितेको छैटौं बालोन डि‘ओरबारे पनि बताए । उनले आफूले जितेको कीर्तिमानी ६ बालोन डि‘ओर भविष्यमा कुनै खेलाडीले भेट्न सक्ने वा रोनाल्डो नै पनि भेट्न सक्ने बताए । ‘अहिले मसँग जे छ, यो निकै सुन्दर कुरा हो । म ज्यादै खुसी छु । ६ बालोन डि‘ओर जित्नु निकै दुर्लभ हो । तर, यो भविष्यमा जो कोहीले भेट्न सक्छ । वा, क्रिस्टियानो पनि आउन सक्छन् । मलाई थाहा छ, म नै अन्तिम र ६ बालोन डि‘ओर नै अन्तिम होइन ।’

प्रकाशित मिति १ माघ २०७६, बुधबार २१:३१
Loading...