‘फाइनल किङ’ जिदान : १० फाइनलमा १० उपाधि !

काठमाडौं, माघ १
स्पेनिस रियल मड्रिडले यसै साता सुपर कप फुटबलको उपाधि जित्यो । साउदी अरेबियामा भएको प्रतियोगितामा एथ्लेटिको मड्रिडलाई फाइनलमा पेनाल्टी सुटआउटमा ४–१ ले हराएर रियलले यो सिजनको पहिलो उपाधि जित्यो, जुन प्रशिक्षक जिनेदिन जिदानको कोचिङ करिअरमा यो १०औं फाइनल र १०औं उपाधि थियो ।

सन् २०१६ को मध्यसिजनबाट रियल मड्रिडको सिनियर टोली सम्हालेका जिदान यतिबेला विश्व फुटबलको कोचिङ सर्कलमा केन्द्रमा छन् । हाल रियलमा दोस्रो चरणको प्रशिक्षण गरिरहेका जिदानले अविश्वसनीय सफलता र थुप्रै उपाधि जितेर पनि २०१८ मा अप्रत्यासित रूपमा रियल छाडेका थिए । तर, गत सिजन रियल खराब अवस्थामा पुगेपछि क्लबले उनलाई सान्टियागो सोलारीको स्थानमा पुनः सान्टियागो बेर्नाबेउ फर्काएको थियो ।

गत सिजन जिदान रियलमा फर्किंदा रियल सबै उपाधि होडबाट बाहिर गइसकेकाले जिदानले सिजन औपचारिकतामा मात्रै पूरा गरे । कारण, उनले जित्नुपर्ने केही थिएन । मात्रै सिजन पूरा गर्नु थियो । उनले त्यसै गरे । तर, यो सिजन जिदान रियललाई नयाँ सिराबाट अघि बढाइरहेका छन् । सिजनको सुरुआतमा केही संघर्ष गरेको रियल अहिले उत्कृष्ट लयमा फर्किएको छ । र, यसको पछाडि जिदानको योजना र रणनीतिले ठूलो काम गरेको छ ।

जारी सिजनको पहिलो उपाधि भिडन्तमा सफलता बटुलेर जिदानले सिजन २०१९–२० को सुरुआत उपाधिबाट गरिसकेका छन् । र, अबको उनको लक्ष्य यो सिजनका सबै उपाधि जित्नु हो । सुपर कप जितेपछि जिदान आफैंले पनि पत्रकार सम्मेलनमा बोल्दै रियलले यो सिजनका सबै उपाधि जित्ने दाबी गरेका थिए । उनले सुपर कपको उपाधिले टिमलाई उपाधिको बाटोमा फर्काएको बताएका थिए ।

जिदानका १० फाइनल, १० उपाधि !

फ्रान्सका प्रशिक्षक जिदान विश्व फुटबलमा सर्वाधिक सफल कोचहरू मध्येमा पर्छन् । युरोपियन फुटबलमा त जिदान सफल कोचमा मात्रै पर्दैनन्, सबैभन्दा थोरै समयमा धेरै उपाधि जित्न प्रशिक्षक नै हुन् । त्यत्ति मात्रै हैन, रियलबाट लगातार तीन सिजन च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने जिदान धर्तीकै एक मात्रै प्रशिक्षक हुन् ।

हालै सुपर कप जितेपछि जिदानका नाममा १० फाइनलबाट १० उपाधि भएको छ, जुन निकै दुर्लभ हो । यो उपाधि जितेसँगै जिदान १० फाइनलमा १० वटै उपाधि जित्ने संसारकै एक मात्रै प्रशिक्षक बनेका छन् । अर्थात्, जिदानले आजसम्म प्रशिक्षकका भूमिकामा फाइनल पुगेपछि कुनै पनि खेल हारेका छैनन् । र, यस्तो रेकर्ड भएका प्रशिक्षक धर्तीमै एक मात्रै छन्– जिनेदिन जिदान ।

जिदानले पहिलोपटक रियलको टोली सम्हाल्दा ९ उपाधि जितेका थिए । सो अवधिमा उनले च्याम्पियन्स लिगमा ह्याट्रिक मात्रै गराएनन्, एक घरेलु लिग पनि जिताए । पहिलो इनिङमा ९ उपाधि जितेका उनले दोस्रो इनिङमा पनि पहिलो फाइनलबाटै उपाधि जितेर उपाधि संख्या १० बनाएका छन् । यो सिजन उनले कति वटा उपाधि थप्छन्, त्यो हेर्न बाँकी छ ।

जिदानले प्रशिक्षकका भूमिकामा जितेका १० उपाधि

  1. च्याम्पियन्स लिग – २०१५–१६
  2. युइएफए सुपर कप २०१६
  3. क्लब विश्वकप – २०१६
  4. स्पेनिस सुपर कप – २०१७
  5. ला लिगा – सिजन २०१६–१७
  6. च्याम्पियन्स लिग – २०१६–१७
  7. युइएफए सुपर कप – २०१७
  8. क्लब विश्वकप – २०१७
  9. च्याम्पियन्स लिग – २०१७–२०१८
  10. स्पेनिस सुपर कप – २०२०

प्रकाशित मिति १ माघ २०७६, बुधबार १९:४८
Loading...