रोनाल्डोलाई आज राति नयाँ रेकर्ड बनाउने अवसर

काठमाडौं, माघ १
जारी सिजनअन्तर्गत आज कोपा इटालिया फुटबलको अन्तिम १६ मा युभेन्टस र उडिनेसको भिडन्त हुँदैछ । राति १ः३० बजेबाट सो खेल हुँदा क्रिस्टियानो रोनाल्डो भने नयाँ रेकर्डसामु हुनेछन् । तर, आजको खेलमा रोनाल्डोले खेल्ने पक्का छैन । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रोनाल्डो उत्कृष्ट लयमा रहे पनि उडिनेसविरुद्ध खेल्ने–नखेल्नेबारे आफूले निर्णय लिन बाँकी रहेको बताएका थिए ।

आज साँझ अबेर सार्वजनिक प्रारम्भिक टोलीमा रोनाल्डो टोलीमा परेका छन् । उनीसहित पाउलो डिबाला, गोन्जालो हिगुइन, डग्लस कोस्टासहितका प्रमुख खेलाडी सो टोलीमा छन् । तर, आजको खेलमा सार्रीले रोनाल्डोलाई आराम दिँदै बेन्चबाट उतार्ने सम्भावना छ । वा, आज उनलाई मैदान नै नउतार्न पनि सक्छन् ।

तर, यदि आज राति घरेलु मैदानमा हुने सो खेलमा रोनाल्डोले खेलेको अवस्थामा उनले कोपा इटालियामा गोल गरेर नयाँ रेकर्ड बनाउनेछन् । हालसम्म रोनाल्डोले आफ्नो करिअर दौरान खेलेका सबैखाले प्रतियोगितामा गोल गरेका छन् । तर, उनले हालसम्म कोपा इटालियामा गोल गर्न सकेका छैनन् ।

गत सिजन युभेन्टस कोपा इटालियाको अन्तिम आठबाटै आउट हुँदा रोनाल्डो गोल गर्न असफल भएका थिए । उनले अन्तिम १६ र अन्तिम आठ गरी दुई खेल खेले पनि गोल गरेका थिएनन् । र, आजसम्म रोनाल्डोले खेलेमध्ये गोल गर्न बाँकी रहेको प्रतियोगिता कोपा इटालिया मात्रै हो ।

यदि आज राति घरेलु मैदानमा खेलेर उडिनेसविरुद्ध गोल गर्न सके रोनाल्डोको करिअरमा गोल नगरेको कुनै पनि प्रतियोगिता बाँकी हुनेछैन । जारी सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट १६ गोल गरेर २ गोलमा असिस्ट गरिसकेका छन् ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार १७:४५
Loading...