पद सम्हालेपछि बार्सिलोनाका नयाँ प्रशिक्षकका १० भनाइ : केही ठट्टा, केही ‘सिरियस’

एजेन्सी, माघ १
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ प्रशिक्षक क्विके सेटिनलाई अघिल्लो दिन साँझ आफ्नो घरेलु रंगशाला क्याम्प नोउमा सार्वजनिक गर्यो । प्रशिक्षकमा नियुक्त भएको केही घन्टामै नयाँ म्यानेजरलाई सार्वजनिक गरेर क्लबले प्रशिक्षकको च्याप्टर पनि बन्द गरिदियो ।

अघिल्लो दिन बार्सिलोनाले प्रमुख प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त र सेटिन नियुक्तिको निर्णय एकसाथ गरेको थियो । अढाई वर्ष बार्सिलोनामा बिताएर चार उपाधि जिताएका भाल्भर्डेको नेतृत्वमा बार्सिलोनाले साउदी अरेबियामा सुपर कप हार्नु उनका लागि बिदाइको निर्णायक समय बनिदियो ।

पछिल्ला चार सिजन बार्सिलोनाले युरोपियन उपाधि जित्न नसकेका बेला दबाबपूर्ण समयमा टिम सम्हाल्न आइपुगेका स्पेनिस म्यानेजर सेटिनबाट क्लब र समर्थकले थुप्रै आशा गरेका छन् । कोचिङ करिअरमा ठूला क्लब सम्हालेको र ठूला प्रतियोगिता जितेको अनुभव नै नभएका सेटिनको खेल शैली भने बार्सिलोनासँग मिल्छ । त्यही भएर पनि उनलाई बार्सिलोनाले विकल्पमा लिएको हो ।

अघिल्लो दिन क्याम्प नोउमा सार्वजनिक भएपछि प्रशिक्षक सेटिनले पत्रकारमाझ प्रश्नोत्तर गरे । सोक्रममा उनले केही ठट्टापूर्ण भनाइ राखे पनि केही सिरियस कुरा गरे । उनले बोलेका १० महत्त्वपूर्ण भनाइ यहाँ राखिएको छ –

१) मैले कुनैबेला बार्सिलोनाजस्तो ठूलो क्लबको प्रशिक्षक बन्छु होला भनेर सोचेको पनि थिइनँ । तर, आज समय आयो । मलाई विश्वास गर्ने क्लबको बोर्ड र समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । म क्लबलाई धेरैभन्दा धेरै उपाधि र फ्यानहरूलाई धेरैभन्दा धेरै खुसी दिलाउन आफ्नो तर्फबाट सबथोक दिनेछु ।

२) हिजोका दिनमा के–के भए, म त्यसमा जान चाहन्नँ । अब म मेरो योजनाअनुसार टिमको हितमा काम गर्नेछु । फुटबल जादुको खेल होइन । र, म यहाँ जादु देखाउन पनि आएको हैन । रातारात यहाँ फेरबल केही हुनेछैन । हामी एकताबद्ध भएर काम गर्नेछौं । खेलाडीलाई एक बनाएर म काम गर्नेछु । आवश्यकताअनुसार टिम बन्नेछ । कसरी अघि बढ्नुपर्छ भनेर मसँग केही योजना छन् ।

३) (हाँस्दै) हिजो मात्रै म मेरो घर भएको सहर क्षेत्रमा गाईहरूको वरिपरि हिँडिरहेको थियो । वा, घुमिरहेको थिएँ । र, आज म बार्सिलोनाजस्तो क्लबलाई प्रशिक्षण दिन यहाँ छु । यहाँ विश्वकै उत्कृष्ट खेलाडी छन्, जोसँग अब मिलेर काम गर्नेछु ।

४) मेरा लागि सबै खेलाडी समान छन् । टिमलाई चाहिने र क्षमतावान् खेलाडे सधैं प्राथमिकतामा हुनेछन् । मलाई थाहा छ, यहाँ ला मासियामा निकै क्षमतावान् युवा खेलाडी छन् । अब उनीहरूले पनि फुल्ने र फक्रिने समय पाउनेछन् ।

५) म यस कुरामा विश्वास गर्छु कि, जित्ने एक मात्रै बाटो भनेको सधैं उत्कृष्ट खेल्नु हो । बार्सिलोना यो बाटोमा हिँड्ने क्लब हो । यो टिमलाई मैले १३ वर्षदेखि टिभीअघि बसेर हेरिरहेको छु । र, मैले त्यस बीचमा थुप्रै आनन्द लिएर जीवनको आयु बढाएको छु ।

६) म यहाँ बार्सिलोना टिमलाई राम्रो बनाउन र धेरै उपाधि जिताउन आएको छु– यो आम मानिसहरू भन्छन् । (हाँस्दै) तर, म भन्छु– म आफैं यहाँ प्रशिक्षण लिन आएको छु । यहाँ लिओनल मेस्सीजस्ता जो खेलाडी छन् । किनभने, अरू प्रशिक्षक खेलाडीलाई प्रशिक्षण दिन्छन् । तर, मेस्सी प्रशिक्षकलाई पनि प्रशिक्षण दिन्छन् । हेरौं उनले मलाई कति उत्कृष्ट बनाउन सक्छन् (हाँस्दै) ।

७) फुटबलमा हरेक सिजन जित्न वा सबै खेल जित्न कहिल्यै सकिँदैन । तर, जितको सपना र महत्त्कांक्षा खेलाडी, प्रशिक्षक र क्लबसँग हुनुपर्छ । समर्थकहरूले यो बेला धेरै कुरा आशा गरेका छन् । उहाँहरूलाई लागेको होला– क्विके सेटिनले अब जादु देखाउनेछन् । तर, माफ गर्नु होला, म जादुगर होइन । कतिवटा उपाधि जितिन्छ भनेर म पहिला नै बाचा गर्न सक्दिनँ ।

८) यो सिजन बार्सिलोनाका लागि नराम्रो केही पनि भएको छैन । हामी अझै तीन प्रमुख उपाधि जित्न सक्छौं । र, त्यसका लागि सबै बाटा खुला छन् । हामी त्यसका लागि १ हजार प्रशित प्रयास गर्नेछौं ।

९) हिजोसम्म मेरा लागि ला लिगा जित्नु ठूलो कुरा थियो । वा भनौं, कोपा डेल रे नै ठूलो थियो । तर, आज म च्याम्पियन्स लिगको प्रमुख दाबेदार टोलीसँग काम गर्दैछु । यो निकै अविश्वसनीय छ । आशा छ, म ला लिगाभन्दा पहिला च्याम्पियन्स लिग जित्न सक्छु । ला लिगा यसपटक नभए अर्कोपालि जितौंला ।

१०) बार्सिलोनाका फ्यान निकै भव्य छन् । क्लब र खेलाडीलाई उनीहरूले निकै माया गर्छन् । आशा छ, मलाई पनि उहाँहरूले उस्तै माया र साथ दिनुहुनेछ । हामी सबै बार्सिलोनालाई रंगीन बनाउन एकै ठाउँमा छौं । म निकै उत्साहित छु ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार १३:४०
Loading...