बार्सिलोनाका नयाँ प्रशिक्षकले बार्यनबाट कोउटिन्हो फर्काउने

एजेन्सी, माघ १
स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनले लोनमा जर्मन क्लब बार्यन म्युनिखमा रहेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई समर सिजनमा फिर्ता ल्याउने भएका छन् । प्रशिक्षकमा नियुक्त भएर सार्वजनिक भएलगत्तै उनले मिडियासँग कुरा गर्दै कोउटिन्हो ‘बार्सिलोनालाई चाहिने’ खेलाडी रहेको बताएर उनलाई फर्काउने संकेत गरेका हुन् ।

स्पेनका मिडिया रिपोर्टअनुसार सेटिन ब्राजिलका स्टार कोउटिन्होलाई क्याम्प नोउ फिर्ता ल्याएर पहिलो रोजाइका खेलाडी बनाउने योजनामा छन् । र, यस विषयमा उनले क्लबबसँग प्रारम्भिक छलफलसमेत गरिसकेका छन् ।

बार्सिलोनाले गत समरमा कोउटिन्होलाई एकवर्षे लोनमा बार्यन पठाएको थियो । सो अवधिपछि बार्यनले चाहेमा १२० मिलियन युरोमा कोउटिन्होले स्थायी खेलाडी बनाउन पाउने सहमति दुई क्लबबीच रहेको छ ।

बार्सिलोनामा अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा कोउटिन्होले चम्किन नसक्दा उनलाई क्लबले बार्यन पठाएको थियो । तर, सेटिन अब प्लेमेकर कोउटिन्होलाई बार्सिलोना ल्याएर उनको उत्कृष्ट फर्ममा फर्काउन आतुर देखिन्छन् । सेटिनको अनुबन्धले आगामी समर सिजनमा बार्सिलोनाको सरुवा गतिविधिमा ठूलो फेरबदल हुनसक्ने स्पेनका मिडियाले जनाएका छन् ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार १२:१७
Loading...