भाल्भर्डेलाई मेस्सीले लेखे यस्तो बिदाइ सन्देश

काठमाडौं, माघ १
अघिल्लो दिन स्पेनिस क्लब बार्सिलोनाको प्रमुख प्रशिक्षक पदबाट बर्खास्तमा परेका अर्नेस्टो भाल्भर्डेलाई टोलीका कप्तान लिओनल मेस्सीले बिदाइ सन्देश लेखेका छन् । उनले भाल्भर्डे बर्खास्तमा परेकै दिन सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् भाल्भर्डेका नाममा एक बिदाइ सन्देश लेखेका हुन् ।

आफ्नो बिदाइ सन्देशमा मेस्सीले भाल्भर्डेलाई ‘उच्च व्यावसायिक’ र ‘भव्य व्यक्ति’ रहेको भन्दै तारिफ पनि गरेका छन् । मेस्सीले भाल्भर्डेसँग प्रशिक्षण क्याम्प खुसी मुद्रामा कुराकानी गर्दै गरेको एक तस्बिरसहित लेखेका छन्–

‘सबै कुराका लागि धन्यवाद बोस ! म ढुक्क छु कि, तपाईं जहाँ जानुहुन्छ, तपाईंका लागि सबै कुरा राम्रो नै हुनेछ । किनभने, तपाईं एक उच्च पेसेवर व्यक्ति हुनुहुन्छ, तपाईं शानदार व्यक्ति पनि हुनुहुन्छ । शुभकामना र ठूलो आलिंगन !’

सन् २०१७ बाट बार्सिलोनाको प्रशिक्षक बनेका भाल्भर्डेले अढाई वर्ष बार्सिलोनामा रहँदा चार उपाधि जिताए । हालै सुपर कपको सेमिफाइनलबाट आउट भएपछि उनी बर्खास्तमा परेका हुन् ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार ०९:४३
Loading...