लुकाकु चम्किँदा मिलानको शानदार जित : कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं, माघ १
खेल सुरु भएको २१ सेकेन्डभित्रै गोलको खाता खोलेका बेल्जियन खेलाडी रोमेलु लुकाकुले उत्कृष्ट प्रदर्शन गर्दा इालियन क्लब इन्टर मिलानले कोपा इटालिया फुटबलमा प्रभावशाली जित निकालेको छ । गत राति भएको अन्तिम १६ को खेलमा क्याग्लिअरीलाई आफ्नो घरमा ४–१ ले हराउँदै मिलान क्वार्टरफाइनल पुग्न पनि सफल भएको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा मिलानका लागि खेल सुरु भएको २१ सेकेन्डमै लुकाकुले गोल गरेका थिए । विपक्षी खेलाडीले सहकर्मीलाई दिएको ब्याक पास ठाउँमा पुग्न नपाउँदै लुकाकुले बल नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए । यसपछि खेलको २२औं मिनेटमा मिलानका लागि बोर्जा भालेरोले गोल गरेपछि पहिलो हाफमा मिलानले २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ४९औं मिनेटमा लुकाकुले नै व्यक्तिगत दोस्रो गोल गरेपछि मिलान ३–० को अग्रतासहित सहज जिततर्फ अघि बढेको थियो । त्यसपछि खेलको ७२औं मिनेटमा क्रिस्टिएन ओलिभाले गोल गरेर खेल ३–१ मा छोट्याए । तर, ८०औं मिनेटमा आन्ड्रेया रोनोछियाले गोल गरेपछि खेल मिलानले ४–१ ले जित्यो ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार ०८:२५
Loading...